मंसिर ६ गते २०७६

भिसि नपाएपछि काग्रेस समर्थित प्राध्यापकले लगाए ताला

पोखरा । उपकुलपति नियुक्ति प्रति असन्तुष्ट हुँदै पोखरा विश्वविद्यालयमा लागेको ताला दुई महिना बित्दा पनि खुलेको छैन ।
असोज ८ गते सरकारले उपकुलपति नियुक्त गरेपछि ९ गतेबाट विश्वविद्यालयमा तालाबन्दी भएको हो ।
खाली रहेको उपकुलपति पदका लागि नेपाल सरकारले तीन महिनाका लागि अन्तरिम उपकुलपति नियुक्त गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र कांग्रेस निकट प्राध्यापक संघले संयुक्त रुपमा तालाबन्दी गरेका थिए ।
दुई महिना वितिसक्दा पनि कुनै पहल नभएपछि जारी रहेको तालाबन्दीले प्रशासनिक काममा अवरोध गरेको छ ।
सरकारले जुनियरलाई नियुक्त गरेर कानुन विपरित काम भएको आन्दोलनकारीको भनाइ छ । सिनियरहरु हुँदाहुँदै पनि जुनियरलाई भिसि बनाएकाले तालाबन्दी गरिएको उनीहरु बताउँछन् । तर विश्वविद्यालयका प्राध्यापकहरु भने कानुन विपरित नियुक्त गरिएको भए अदालत तथा अन्य कानुनी निकायबाट निकास खोज्ने माध्यम हुँदाहुँदै राजनीतिक कारणले तालाबन्दी गरिएको बताउँछन् ।
कांग्रेस निकटले भिसि नपाएपछि आन्दोलन गर्ने वहाना मात्र बनाएको उनीहरुको भनाइ छ ।