असार ६ गते २०७६

बिस्वमा कतिले चलाउछन मोवाईल ?

असार ६ गते
विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ ।
इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो । सन २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ ।
पछिल्लो एक वर्षमा मोबाइल प्रयोगकर्ताको संख्यामा सबैभन्दा धेरै वृद्धि चीनमा भएको छ । एक वर्षमा चीनमा मोबाइल प्रयोगकर्ता ३ करोड थपिएका छन। त्यस्तै नाइजेरियामा ५० लाख र फिलिपिन्समा ४० लाखले वृद्धि भएको छ ।
जबकि भारतमा भने कूल मोबाइल फोन सब्सक्रिप्सनमा १ करोड ४० लाखले गिरावट आएको छ । कतिपय ठूला टेलिकम प्रोभाइडरले नियमित न्यूनतम मोबाइल रिचार्जको नियम लागू गरेसँगै एक व्यक्तिले धेरै मोबाइल नम्बर राख्ने प्रवृत्तिमा कमी आएका कारण मोबाइल प्रयोगकर्ताको संख्यामा गिरावट आएको देखिएको हो ।
त्यस्तै मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्यामा १५ प्रतिशतले वृद्धि भई ६ अर्ब पुगेको छ । यो कूल मोबाइल प्रयोगकर्ताको ७६ प्रतिशत हो ।
रिपोर्ट अनुसार मोबाइल प्रयोगकर्तामध्ये ६० प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन । कतिपय देशमा त त्यहाँको कूल जनसंख्या भन्दा मोबाइल फोन प्रयोगको घनत्व रहेको छ । यसो हुनुको प्रमुख कारण भनेको एकजनाले धेरैवटा मोबाइल सेट बोक्नु तथा मोबाइल नम्बर लिएर प्रयोग गर्न छाडेका समेत हुनु हो । विश्वमा कूल मोबाइल सेवा खरीदको संख्या ७ अर्ब ९० करोड रहेको भए पनि मोबाइल फोन प्रयोग गर्ने वास्तबिक जनसंख्या भने ५ अर्ब ७० करोड हो ।
रिपोर्ट अनुसार उत्तर अमेरिकी क्षेत्रमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ३८ करोड ५० लाख छ भने ल्याटिन अमेरिकामा ६६ करोड ५० लाख । त्यस्तै पश्चिमी युरोपमा ५१ करोड, मध्य तथा पूर्वी युरोपमा ५८ करोड र मध्यपूर्वमा साढे ४१ करोड रहेको छ ।
रिपोर्ट अनुसार, अफ्रिकामा १ अर्ब ४ करोड, चीनमा १ अर्ब ९५ करोड र भारतमा १ अर्ब १६ करोड रहेको छ ।
मोबाइल डाटा ट्राफिकमा ८२ प्रतिशतले वृद्धि
पछिल्लो एक वर्षमा विश्वमा मोबाइलमा डाटामार्फत इन्टरनेटको ट्राफिकमा ८२ प्रतिशतले वृद्धि भएको रिपोर्टले देखाएको छ । खासगरी भारत र चीनमा स्मार्टफोन प्रयोगकर्ताको इन्टरनेट ट्राफिकमा भएको उच्च वृद्धिका कारण विश्वव्यापी वृद्धिदर पनि उच्च देखिएको छ ।
एजेन्सी