असार १७ गते २०७६

भेडाको बदला भेडा नै

पोखरा।, असार १७ ।
गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले २८ भेडा वितरण गरेको हो ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई दुई लाख ८० हजार बराबरको २८ वटा भेडा सहयोग गरिएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए । दुधपोखरी गाउँपालिकाको जोर्नीमा एक कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेशका सदस्य धनञ्जय दवाडीले कृषकलाई भेडा वितरण गरेका हुन् । उनले भने, ुकिसानले भेडा पाएसँगै राहतको महसुश गरेका छन् ।ु
दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का किसानले संयुक्त रूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी घुम्ती भेडीगोठमा भेडापालन गर्दै आएका छन् । उनीहरुले सञ्चालन गरेको भेडीगोडमा ६ सय ४० बढी भेडा रहेका छन् । दूधपोखरी गाउँपालिकाकाको ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिमरुङ र पाचोकका गरी ३० जना किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै आएका छन् ।
गत वैशाख २८ गते शनिबार साँझ परेको चट्याङले भेडीगोठका २८ वटा भेडा मरेका थिए ।