श्रावण २४ गते २०७६

अलपत्र क्षेत्रिय संग्रहालय पुन र्निमाण गर्दे गण्डकी प्रदेश

पोखरा, साउन २४,
२०४१ सालमा र्निमाण गरिएको पोखराको नयाँबजास्थित पश्चिमाञ्चल क्षेत्रीय संग्रहालय अलपत्र भयो ।
पोखरामा सुरुमा मानिसहरुको आवतजावत अत्याधिक हुने यो संग्रहालय पछिल्लो समय शुन्यतामा झरेको थियो । करिव ६० को दशकमा संग्रहालयमा लाखौ मानिसहरुले बर्षमा भ्रमण गरेको रेकर्ड छ तर आजभोलि शुन्य बन्नुको कारण पोखरामा र्निमाण भएको अन्य सुबिधायुत्त संग्रहालयहरु पनि एउटा कारण भएको संग्रहालय ब्यबस्थापनले जिकिर गरेको छ । तर आवश्यक प्रचार र मर्मत सम्भारको अभावले यो बेवारिस अवस्थामा पुगेको प्रष्ट देखिन्छ । संग्रहालय परिसर डम्पीङ्ग साईट बनेको थियो भने कर्मचारी फुर्सदमा घाम तापेर बस्न बाध्य थिए ।
देश संघीयतामा गइसकेपछि अहिले संग्रहालय प्रदेशको मातहतमा आएको छ । स्थापना भएको ३५ वर्षपछि अर्थात गत भदौ २४ गते उक्त संग्रहालय प्रदेशलाई हस्तान्तरण भएको हो । ‘क्षेत्रीय संग्रहालय’बाट परिवर्तन भएर हाल ‘प्रदेश संग्रहालय’को नाममा प्रदेशको सामाजिक विकास मन्त्रालयको मातहतमा छ । २३ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय प्रदेशको मातहतमा आएपछि भने मर्मत र आबस्यक अन्य बस्तुहरु संकलित गर्न थालिएको छ । यो बर्ष प्रदेश सरकारले संग्रहालयमा गुरुङ्ग सस्कृति को जन्म देखि मृत्यु सस्कार तथा अन्य लोपोन्मुख मुर्तिहरु थपेको छ भने अबलोकनका लागि पनि नयाँ ब्यबस्था गरेको छ । पोखरामा रहेका अन्य तिनवटा संग्रहालय भन्दा यो पृथक हो , तर मानिसहरुले सबै संग्रहालयलाई एउटै रुपमा बुझीदिएकाले पनि अबलोकनमा कमि आएको संग्रहालय प्रमुख करुणा राईको भनाई छ ।
यो प्रदेश संग्रहालय सांस्कृतिक संग्रहालय हो । यस संग्रहालयलाई गण्डकी प्रदेश बहुसांस्कृतिक ग्रामका रुपमा पनि विकास गरेर लैजाने बताउँदै आएको छ । गण्डकी प्रदेशसहित आसपासका क्षेत्रमा बसोबास गर्ने आदिबासी जनजातिको दैनिक जीवनशैली झल्कने वस्तुहरु संग्रहालयमा संग्रहित छन् ।हिमाली जिल्ला मुस्ताङमा उत्खननबाट प्राप्त पुरातात्विक सामग्री पनि यस संग्रहालय प्रदर्शनीको अर्को आकर्षण हो । यो अरु संग्रहालयमा पाईदैन । परम्परागत वाद्यवादन, हातहतियार, नापतौल सामग्री संग्रहालयमा छन् । संग्रहालय प्रमुख राईका अनुसार प्रदेशमा आउनुअघि संग्रहालय पुरातत्व विभागको मातहतमा थियो । यहाँ १६ औं शताब्दीदेखिका पुरातात्विक बहुमूल्य वस्तुहरु पनि संग्रहित छन् ।’ संग्रहालयमा १६ औं शताब्दीदेखिका विभिन्न धातु, हातहतियार र मूर्ति देख्न सकिन्छ ।
प्रदेशको मातहतमा रहेको संग्रहालयको कार्यालय भवनसमेत छैन । सामग्री प्रदर्शन गर्न बनाइएको कोठा नै कर्मचारीले कार्यालय बनाएका छन् । त्यहीं बसेर उनीहरु काम गर्छन् । प्रदेश संग्रहालयलाई १० जनाको कर्मचारी दरबन्दी छ । तर, त्यहाँ ४ स्थायी कर्मचारी र २ कार्यालय सहयोगीमात्रै छन् । लाखौं मूल्य बराबरका विभिन्न महत्व बोकेका कुनै कुनै वस्तु सिसा बाहिर नै छन् । ती वस्तु हेरचाह गर्न संग्रहालयमा ग्यालरी सुरक्षागार्ड समेत छैनन् । जसका कारण संग्रहालय असुरक्षित रहेको राईको दुखेसो छ ।
संग्रहालय विभिन्नथरी ‘ग्यालरी’ का नाममा ४ भागमा विभाजन गरिएको छ । त्यसमध्ये ३ वटा ग्यालरी पहिलेदेखि खुला छ भने नव निर्मित चौंथो ग्यालरीको पनि भर्खरै उदघाटन भएको छ । पर्यटन मन्त्रालयले ११ लाख रुपैयाँमा चौंथो ग्यालरी बनाइदिएको हो । जसको उद्घाटन प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले गर्नुभएको हो । प्रदेशले राम्रो संरक्षण गर्न सके प्रदेशको सास्कृतिक संग्रहालयको रुपमा पर्यटकको ओईरो लाग्ने संभावना छ ।