श्रावण २७ गते २०७६

युवा र सरकारलाई युवाहरुको सन्देश

सन्दर्भः अन्तर्राष्ट्रिय युवा दिवस ,

युवाहरूलाइ हरेक तहकाे सरकारले सघाउनु पर्छः सुवास मल्ल युवा अभियान्ता

युवाहरूले नै संसारमा कुनै पनि देशकाे मुहार फेरेका छन् । नेपालमा पनि हालसम्मका सबै ठूला राजनैतिक उपलब्धीहरूमा युवाहरूकाे विशिष्ट भूमिका रहेकाे छ । तर राजनैतिक उपलब्धीलाइ संस्थागत गर्ने सन्दर्भमा, मुलुकलाइ समृद्धिकाे बाटाेमा हिडाउन विषयमा र याे देशकाे सामाजिक विकास गर्ने कार्यमा भने युवाहरूकाे कम चासाे रहेकाे देख्छु । देशमा राजनैतिक परिवर्तनले मात्र समृद्धिकाे बाटाे बन्दैन । यसका लागि युवाहरूले निरन्तर मेहेनत गरेर, नयाँ साेच र प्रविधिलाइ अगाडि बढाउन पहल गर्नुपर्छ । यसका लागि युवाहरूलाइ हरेक तहकाे सरकारले सघाउनु पर्छ ।

सुवास मल्ल युवा अभियान्ता

शिक्षाका लागि शिक्षा हैन, उसको इच्छा अनुसारको शिक्षा चाहीयो ः भुवन क्षेत्री अध्यक्ष नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)- कास्की

अन्तरास्ट्रिय मान्यता अनुरुप उमेरका हिसाबले १८ देखि ३० वर्षका व्यक्तिलाई युवा वर्ग मानिन्छ । १८-३० जीवनको सबैभन्दा बढी उर्जा, जोश र केहि गर्छु भन्ने हुटहुटिले भरिएको समय हो । त्यो उर्जावान समयको सहि सदुपयोग भैदिंदा एउटा व्यक्तिमात्र हैन, एउटा समाजमात्र पनि हैन, सारा मानव समुदाय नै लाभान्वित हुन पुग्छ । तर, मुलतः हाम्रो जस्तो बिकासतिर लम्कीरहेका मुलुकमा आजको युवा देशमा ब्याप्त भ्रस्टाचार, अशिक्षा र वेरोजगारिका कारण ठुलो चुनौतिको रुपमा पनि देखा पर्न थालेको छ ! हामीलाई थाहा छ, अवसरको अभाबमा चुनौती बनिरहेको छ युवा । अवसरको सन्दर्भमा योग्यताको भन्दा पहुँचको वोलवाला छ । हामीलाई यो थाहा पनि छ कि हाम्रो समाज, रास्ट्र र सिंगो विश्वमा ब्याप्त बेथिति र अन्धकार हटाउने सामर्थ्य युवामा निहित हुन्छ । हामीले धेरै बोलिसक्यौं कि आजको युवा भोलिको उज्यालो हो । तर बिडम्बना, जीवनको उर्जाशील समय बाँचिरहेको एउटा युवालाई केवल भोलिको प्रलोभनमा रुमल्याएर आज प्रस्फुटित हुनबाट बन्चित गराउने हाम्रै धार्मिक, सामाजिक, राजनैतिक ईत्यादी संस्कार र मान्यताहरु छन् । जुन यथाशक्य भत्किन जरुरि छ । उमेरले व्यक्ति बलवान होला, तर उसलाई क्षमतावान र २१ औं शताब्दिको आजको विश्वमा प्रतिस्पर्धीको रुपमा उभिन सक्षम बनाउने भनेको उचित शिक्षा र हौसलाले नै हो । हरेक युवालाई- मात्र शिक्षाका लागि शिक्षा हैन, उसको इच्छा अनुसारको शिक्षा, जीवन उपयोगी शिक्षा, विश्वस्तरीय शिक्षा प्रदान गरेर वा बाटो देखाएर उसलाई सामाजिक योगदान पुर्याउन सक्ने हैसियतमा पुर्याउने जिम्मेवारी राज्यको हो । त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगोस । अन्तरास्ट्रिय युवा दिवस २०१९ को हार्दिक शुभकामना ।

भुवन क्षेत्री अध्यक्ष नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)- कास्की

व्यवहारिक ज्ञान एवं उद्यमशिलताको कमीले गर्दा युवाहरुमा नैराश्यता बढ्दो छः प्रतिभा गैह्रेसचिव, महिला उद्यमी संघ, कास्की

आज युवाहरूकाे भुमिका समाज तथा देश रुपान्तरणमा हुनुपर्थ्याे तर बिडम्बना लाखाैं युवाहरु शैक्षिक बेरोजगार हुनु र लाखौं युवाहरु विभिन्न वाहानामा विदेशिनु देशको लागी लज्जास्पद कुरा बनेको छ । शैक्षिक डिग्री प्राप्त गर्ने क्रम बढेपनि व्यवहारिक ज्ञान एवं उद्यमशिलताको कमीले गर्दा युवाहरुमा नैराश्यता बढ्दो छ । जसरी स्थानिय सरकारले विकास निर्माणका कार्यमा अग्रसरता देखाएको छ त्यसै गरी प्रदेश सरकारले युवा उद्यमशिलता र प्राबिधिक शिक्षामा जोड दिएर जोश, जागर, सिर्जनशिलता, उद्यमशिलताका धनी एवं देशका कर्णदार युवाहरुलाई अवसरको सिर्जना गर्न सक्यो भने कोहि पनि युवा विदेशिन बाध्य हुने थिएन । आशा छ यो युवा दिवसका दिन देखि गण्डकी प्रदेश युवाहरुको लागि अवसरको प्रदेशको रुपमा परिणत हुने छ, मेरो लाख शुभकामना ।

प्रतिभा गैह्रे सचिव, महिला उद्यमी संघ, कास्की

म बदलिए देश आफै बदलिन्छ’ भन्ने नारालाइ ग्रहण गरौ ः युदिप सुवेदी क्षेत्री ,रोट्रर्याक्ट क्लव अफ पोखरा लेकसाइडको अध्यक्ष

सर्वप्रथम अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा म सम्पूर्ण नेपालीहरूलाइ शुभकामना प्रदान गर्दछु । युवा शक्तीले देशकाे मात्र नभइ विश्वकाे नै गति निर्धारण गर्दछ । सन् २०११ काे जनगणना अनुसार नेपालमा ४० प्रतिशत युवाहरू छन् । याे कुरा नेपालकाे लागि गाैरवकाे विषय पनि हाे । हालकाे अवस्थामा हेर्दा सबै युवाहरूमा देशकाे माया र देश विकास गर्ने भावना छ । तर देशले याे उर्जाकाे उपयाेग गर्न सकेकाे छैन । म एक सामाजिक क्षेत्रमा अग्रसर भएकाे युवाकाे नाताले के भन्न चाहन्छु भने हामी सबै युवाहरू अाफ्नाे ठाउँबाट सामाजिक रूपान्तरणकाे लागि सक्दाे काेशिस गरिरहेका छाैं । तर हाम्रा प्रयासहरू छराल्लिएका छन्र । यी सबैलाइ सरकारले एक सुत्रमा बाँधेर सहि दिशामा परिचालित गर्न सके देशकाे विकासकाे लागि यसले राम्राे भुमिका खेल्छ । सरकार अनि राजनैतिक दलहरूले अाफ्नाे व्यक्तिगत वा दलगत स्वार्थ भन्दा माथि उठेर देश र युवाहरूकाे सराेकारलाइ जाेड दिएमा पक्कै पनि देशले मुहार फेर्छ । अन्तमा ‘म बदलिए देश अाफैं बदलिन्छ’ भन्ने नारालाइ ग्रहण गर्दै सबै जनालाइ अगाडि बढ्नका लागि म अपिल गर्दछु ।

इ. युदिप सुवेदी क्षेत्री रोट्रर्याक्ट क्लव अफ पोखरा लेकसाइडको अध्यक्ष

विश्वमा नाम चलेका संस्थाहरुमा नेपाली युवाहरूले राम्राे दक्षता देखाएका छन्ः सुजन लामिछाने गैर अावसिय नेपाली (युवा अभियान्ता) हाल अस्ट्रेलिया

ईमानदार र मेहनती नेपाली युवाको बिदेशिने संख्या दिनानुदिन बढ़ीरहेको छ, जून देशको निमित्त डरलागदो विषय हो । आज विश्वमा नाम चलेका संस्थाहरुमा नेपाली युवाहरू कार्यरत छन र राम्राे दक्षता देखाएका छन । यसको तात्पर्य के हो भने देशमा नै त्यो जनशक्तिको सदूपयोग गर्न सकेको भए आज देशको स्थिति फ़ेरिन सक्थ्यो । स्वयं म अहिले विदेशमा छु र मैले धेरै जना युवाहरूसंग कुरा गर्दा उनीहरु आफ़नो देशमा फ़र्केर उद्धमी बन्न चाहन्छन्। यो कुरा सत्तामा बसेर भत्ता खानेहरूले बुझ्न ज़रूरी छ । जबसम्म शासकहरूले देशको बर्तमान स्थिति परिवर्तन गर्न युवको विकल्प छैन भन्ने कुरा बुझ्दैनन्, तबसम्म भ्रष्टाचार, बेथिति, बेरोजगारी, विदेसिनेको संख्या बढ़ीरहने छ ।देशको परिवर्तनको निमित्त एक पुस्ताको त्याग अपरिहार्य छ, मलाई बिस्वास छ त्यो पुस्ता भनेको अहिले बाहिर रहेको र नेपालमा नै रहेको दक्ष युवा जनशक्ति हो। सकारात्मक सोचौं, सोच बानी ब्यबहार बदलौ, आफैबाट परिवर्तनको सुरूवात गरौ । पहिले घर समाज हुँदै देश परिवर्तन गरौँ । यहाँ सबैलाई देश बनाऊन हतार छ घर समाज ध्यान नै छैन । त्यसैले सबैले आफ़ना ग़लत बानी पहिचान गरेर सुधार्न लागौं । आफ़नो क्षेत्रबाट दिन सक्ने योगदान गरौं देशको मुहार बदलिन धेरै समय लाग्नदैन । अन्तर्राष्ट्रीय युवा दिवसको हार्दिक हार्दिक शुभकामना

सुजन लामिछाने गैर अावसिय नेपाली (युवा अभियान्ता) हाल अस्ट्रेलिया

रचनात्मक भएर हाम्रो आफनो समाज र राष्ट्रलाई सम्बृद्ध बनाउन लागौ ः सन्तोष शाही, अध्यक्ष जेसीआई पोखरा २०१९

२०औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समस्त देश विदेशमा रहेका युवाशक्तिहरुलाई आफ्नो लक्ष्य प्राप्ति होस् भन्ने शुभकामना दिन चाहन्छौं । युवाहरुको क्षमतालाई पहिचान गर्ने र दैनिक रुपमा विदेश पलायन हुने सयौं युवाहरुलाई गुणस्तरीय शिक्षा, रोजगारी र व्यवसायको दृष्टिकोणले नेपालभित्रै उचित वातावरण निर्माणका लागि नेपाल सरकारलाई आग्रह गर्न चाहन्छौं । युवाहरुलाई रचनात्मक भएर हाम्रो आफनो समाज र राष्ट्रलाई सम्बृद्ध बनाउनको लागि आफु जुन ठाउँमा छौं त्यहि ठाउँबाट आफूसँग भएको श्रोत साधनलाई अधिकतम परिचालन गरि अघि बढ्नका लागि सन्देश दिन चाहन्छु ।

सन्तोष शाही अध्यक्ष जेसीआई पोखरा २०१९