श्रावण २८ गते २०७६

टाटा ह्यारियर ‘एचफाइभ अब नेपालमा , हेनुहोस यस्तो छ गाडी ?

काठमाडौं । टाटा ह्यारियर नेपाली बजारमा एच फाइभ (एचफाइभ) नाममा आउने भएको छ । पहिले नै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भए पनि नामकै कारण यसको लन्च रोकिएको थियो ।

नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सो कार आगामी नाडा अटो शोमा सार्वजनिक गर्ने बताएको छ । नाडा अटो शो आगामी भाद्र १० देखि १६ गतेसम्म हुँदैछ ।

ह्यारियर एसयूभी गत जनवरी २३ मा भारतीय बजारमा लन्च गरिएको थियो । टाटाले गत वर्षको अटो एक्सपोमा एच५एक्स कन्सेप्टको रुपमा यो कारलाई पहिलो पटक सार्वजनिक गरेको थियो । त्यही कन्सेप्टको अधिकांश भागलाई नै मिलाएर ह्यारियर निर्माण गरिएको छ ।

कारको डिजाइन आधुनिक छ भने बोनटको तल्लो साइडमा हेडलाइट राखिएको छ । फ्रन्ट ग्रिलमा राखिएको डे टाइम रनिङ लाइटले यसलाई निकै नै आकर्षक बनाएको छ । ह्यारियर लन्चिङका साथ टाटाले इम्प्याक्ट डिजाइन २.० फिलोसोफीलाई पनि डेब्यु गरेको छ ।

टाटा ह्यारियरमा २.० लिटरको फोर सिलिन्डर क्र्याओटेक टर्बो डिजेल इन्जिन छ, जसले १४० बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ । यसमा ४ सय ५० लिटरको बुट स्पेस र ५० लिटरको इन्धन ट्यांकी उपलब्ध छ ।

हाल फोर ह्विल ड्राइभ र अटोमेटिक ट्रान्समिसन अप्सन उपलब्ध छैन । तर पनि आगामी दिनमा अपडेटको रुपमा उपलब्ध हुने अनुमान गरिएको छ । ह्यारियरमा ईएसपीमा आधारित टेरेन रेस्पोन्स मोड उपलब्ध छ, जसका कारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।

कारको क्याबिनमा ८।८ इनचको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । त्यसैगरी ८–वे एड्जस्टेबल ड्राइभर सिट, लेदर अपहोल्स्ट्री, क्लाइमेट कन्ट्रोल, ओआरभीएम आदि उपलब्ध छ ।