भाद्र १ गते २०७६

रबि बिरुद्ध किटानी जाहरी ,अव के हुन्छ ?

काठमाडौं, १ भदौ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ। पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत् लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो। मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन्।
शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिएको परिवारले जनाएको छ। किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छिन्। साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका थिए।
उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो। त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो।चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।