कार्तिक ५ गते २०७६

तिहारमा विकृतिपूर्ण क्रियाकलाप गरे कारवाही ः गृह

काठमाण्डाँै, ५ कात्तिक । गृह मन्त्रालयले तिहारलाई अनुशासित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गरेको हो ।
विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । साथै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौं ।’
दिपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विष्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरीद, बिक्रीवितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
कसैले यस्तो गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।