कार्तिक १३ गते २०७६

धार्मिक विधिपूर्वक छठ पर्व शुरू

सिरहा । चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्व शुरु भएको छ । सिरहा, धनुषा, बारा,पर्सा, सुनसरी, मोरङ, रौतहटलगायतका जिल्लामा धुमधामसँग मनाइने छठ पर्व आजदेखि शुरु भएको हो ।
मिथिलाञ्चलभर विभिन्न तालतलाउ, पोखरी, इनार तथा प्रसिद्ध नदीछेउमा विधिपूर्वक छठ पर्व मनाइने गरिन्छ ।
आरोग्य, अहिंसा, सत्य र समृद्धिको रुपमा मनाइने छठको पहिलो दिन आज नुहाएर शुद्ध खानेकुरा खाई छठको शुरुवात गरिन्छ । आजको दिन माछा र कोदो खान नहुने धार्मिक मान्यता रहेको पण्डित अरुण झाको भनाइ छ ।
छठ पूजाको दोस्रो दिन भोलि खरना मनाइन्छ । जसअन्तर्गत व्रतालुले दिनभर उपवास बसेर राति खीर, पुरी लगायतका खानेकुरा गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुरा खाने गरेको स्थानीय रन्जुला मिश्राले बताउनुभयो । शुद्ध मनले छठ पूजाको आराधनाबाट निःसन्तानले सन्तान पाउँछन् तथा रोगीले स्वास्थ्यलाभ प्राप्त गर्ने स्थानीय सरिता मण्डलको विश्वास छ ।
त्यस्तै पर्वको तेस्रो दिन व्रतालुले दिनभर आ–आफ्ना घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।
त्यस दिन रातभर नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट अर्थात् आउने आइतबार बिहान उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।