कार्तिक २३ गते २०७६

प्रधानमन्त्रीले एकाएक दिए आफ्नै सचिवालयका कर्मचारीलाई यस्तो र्निदेशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको काम गर्ने शैली चुस्त नभएपछि आफ्नै सचिवालयबाट सुधार शुरु गर्ने हुनु भएको छ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजीनामा दिन निर्देशन दिनु भएको हो । आफ्ना कार्यकर्ता मात्र होइन, निजामती कर्मचारी तर्फका पनि सचिवालयका सबैलाई सचिवालय खाली गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले भएका कसैलाई आवश्यक भएपछि बोलाउँछु, अहिले सबैले राजीनामा दिनु भन्नु भएको छ ।’

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्रीको काम गर्ने स्प्रिडलाई पछ्याउन नसकेको आरोप लाग्दै आएको थियो । प्रमुख सल्लाहकार विष्णु रिमालको ठाउँमा महेन्द्र पाण्डेलाई जिम्मेवारी दिने वा अरु कोही हुनसक्छ भनेर आवश्यक पात्रको खोजी भइरहेको छ । पत्रकार कुन्दन अर्याल र रामशरण बजगाईंले राजीनामा बुझाइसकेको स्रोतको दाबी छ । अहिले भएका सचिवालयका राजेश वज्राचार्य र चेतन अधिकारीले निरन्तरता पाउने र बाँकी सबै परिवर्तन हुने स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले सचिवालयपछि अर्थमन्त्रीलगायत केही मन्त्री परिवर्तन गर्ने बताइएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डे बन्नु हुने स्रोतको दाबी छ ।