माघ ५ गते २०७६

सभामूख अग्नि सापकोटा लाई

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा नेता अग्नि सापकोटालाई सभामूख बनाउने सहमति भएको छ। दुई अध्यक्षबीच आज बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामूख बनाउने सहमति भएको नेकपा सचिवालय स्रोतले जनाएको छ।
त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकबाट औपचारिक अनुमोदन गर्ने जनाइएको छ।
सभामुखमा नेता अग्नि सापकोटा, सुवासचन्द्र नेम्वाङ, हरिबोल गजुरेल, देव गुरुङ र पम्फा भुसालको नाम चर्चामा थियो । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले अग्नि सापकोटाको विषयमा प्रमुखताका साथ छलफल चलाएका थिए ।
शनिबार मात्रै सभामुखकै विषयमा प्रचण्डले अग्नि सापकोटालाई भेटेर छलफल गरेका थिए । उनले सापकाटोलाई तयार रहन आग्रह गरेको विषय बाहिरिएको थियो ।
यसअघि पुस २३ मा पार्टी सचिवालय सदस्य बामदेव गौतम निवास भैंसेपाटीमा बसेको पार्टीका शीर्ष नेताहरुको छलफलमा प्रचण्डको प्रस्तावलाई नै अन्तिम मान्ने सहमति भएको थियो । भैंसेपाटी छलफलमा पनि पूर्वमाओवादीका नेताहरु अग्नि सापकोटा र हरिबोल गजुरेलबारे गम्भिर छलफल भएको थियो ।
सत्तारुढ नेकपाले सभामुखको विषय टुंगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक स्थगित हुँदै आएको छ । गत पुस ४ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ ।