चैत्र २५ गते २०७६

कर्णाली कोरोनाको जोखिममा ः लकडाउनको बिकल्प खाजिदै , क्वारेन्टाइनमा बस्न इन्कार गर्दे एक महिला भेरीमा हाम्फालिन्

२५ चैत, सुर्खेत । सुरुमा गण्डकी प्रदेशमा देखिएको कोरोना संक्रमण सुदूर पश्चिम हुदै कर्णाली लाई अर्को जोखिममा पार्ने आंकलन हुन थालेको छ । कोरोनाको रोकथामको उत्तम उपायको रुपमा मानिएको क्वारेन्टाईन प्रति सुदुर र कर्णाली प्रदेशमा अन्बबिस्वास रहनु पनी जोखिमको अर्को कारण बनेको छ । छिमेकी प्रदेश सुदूरपश्चिमबाट कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेपछि कर्णाली प्रदेशले आफ्नो प्रदेशमा सतर्कता बढाएको छ । सुदूरपश्चिमजस्तै कर्णाली प्रदेश पनि भारतबाट प्रवासी नेपालीहरु बढी भित्रिने क्षेत्रमा पर्छ । कर्णालीमा विभिन्न जिल्लाका बासिन्दाहरु भारतमा रोजगारी गर्न जाने गर्छन्, जो अहिले स्वदेश भित्रिएका छन् ।

कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन परिषद्, अनुगमन समिति, विभिन्न उपसमिति र प्रदेश संकट व्यवस्थापन केन्द्रलगायतका संरचनामार्फत कोरोना रोकथामको तयारी थालेको छ । हालसम्म यहाँ संक्रमित नदेखिए पनि प्रदेश उच्च जोखिममा रहेको निष्कर्षसहित कर्णाली सरकारले १० वटै जिल्लाका स्थानीय तहमा दोस्रो तहको तयारी थालेको छ ।

कर्णालीमा सुदूरपश्चिमकै जस्तै विशेषता भएकोले भयावह अवस्था आउन नदिन केन्द्र सरकारका सबै निर्णय र लकडाउनलाई कार्यान्वयन गराउन बल प्रयोग गर्नसमेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् ।

सुदूरपश्चिमजस्तै जोखिममा छ कर्णाली

कर्णालीमा हालसम्म संक्रमित नभेटिए पनि उच्च जोखिममा छ । पूर्वतयारीमा सरकार चुकेको अवस्थामा कर्णालीले सुदूरपश्चिमकै नियति भोग्नुपर्ने निश्चित छ । कर्णालीमा पनि ठीक सुदूरपश्चिमकै अवस्था छ । किनभने, यहाँ भारतबाट फर्किनेको संख्या ठूलो छ ।

प्रदेश सरकारको तथ्याङ्कअनुसार विदेशबाट ८ हजार ६५० जना आएका छन् । केही बाहेक यो संख्या भारतबाट आउनेको हो । तर, भारतबाट आएका धेरैजसो क्वारेन्टाइनमा नबसी गाउँ पुगेका छन् । उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेको समेत निश्चित हुन सकेको छैन ।

फा्रन्सबाट करतार हुँदै नेपाल आएको जहाजमा संक्रमितहरुसँगै चैत ४ गते आएका दैलेखका स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा नबसेको र २० दिनसम्म पनि परीक्षण नगराउनुले नै यो पुष्टि गरेको छ ।

अन्धविश्वासका कारण क्वारेन्टाइनमा बस्न इन्कार

सुदूरपश्चिममा कोरोना प्रवेश नगरोस् भनेर शैलेश्वरी मन्दिरमा स्थानीयले भाकल गरेका थिए । ठीक त्यस्तै कर्णालीमा पनि देवीदेवता भाकल गर्न थालिएको छ । लकडाउन भइसकेको अवस्थामा दैलेखमा कोरोना गाउँ नपसोस् भनी कूल देवताको पूजा गरी संकल्प गरिएको थियो ।

यो अन्धविश्वासको एउटा उदाहरण मात्रै हो । अशिक्षाका कारण यहाँ थुप्रै समस्या छन् । अशिक्षाकै कारण कर्णालीवासी क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन् ।

यही चैत १५ गते नेपालगञ्जबाट डोल्पा पुगेका स्थानीयवासी क्वारेन्टाइनमा बस्न मानेनन् । तर, गाउँपालिकाले जबरजस्त क्वारेन्टाइनमै राख्न खोजेपछि से–फोक्सुण्डो गाउँपालिका–५ क ङाचोक गुरुङले भेरी नदीमा हाम फालेर आत्महत्या प्रयास गरिन् ।

क्वारेन्टाइनमा बस्नुभन्दा आत्महत्या गर्न तयार हुनुको प्रमुख कारण कर्णालीको अशिक्षा हो । नागरिकले क्वारेन्टाइन भनेको जेल सम्झिन्छन्, बरु अरु सजायँ भोग्न तयार हुन्छन् । नागरिकमा चेतना जागृत हुन नसक्दा पनि कोरोनाको रोकथाममा चुनौती थपिएको प्रदेश सरकारकी प्रवक्ता सहकारीमन्त्री विमला केसीको भनाइ छ ।

गाउँमा कोरोनोप्रतिको गलत बुझाइका कारण पनि बाहिरबाट गएकाहरु क्वारेन्टाइनमा बस्न नमान्ने गरेको प्रवक्ता केसीको बुझाइ छ । ‘नागरिकमा चेतनास्तर कम छ, कोरोनालाई एचआईभी जस्तै सम्झिएका छन्,’ उनले भनिन्, ‘समस्या छ तर सम्झाइबुझाई गरी सुरक्षित राख्ने प्रयत्न गरिरहेका छौं ।’

चिनियाँ मोडेलको ‘युनिट एक्सन टिम’ परिचालन

खास गरी दोस्रो चरणमा प्रदेश सरकारले नयाँ संरचना र अवधारणा अवलम्बन गर्ने जनाएको छ । जसअन्तर्गत तेस्रो मुलुक र भारतबाट आएकाहरुको विशेष निगरानी गरिने छ । यसका लागि टोल, समुदाय, वडा र स्थानीयतह र जिल्लास्तरमा एकीकृत टिम अर्थात ‘युनिट एक्सन टिम’ निर्माण गरी बाहिरबाट आएका नागरिकको तथ्यांक संकलन गर्न थालिएको छ ।

केही स्थानीय तहले तथ्यांक संकलन गरेर काम सुरु गरिसकेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

प्रदेशका सबै जिल्ला, स्थानीय तह र वडा हुँदै समुदाय र टोलमा समेत छिट्टै एकीकृत टिम निर्माण भइ काम सुरु हुने उनको भनाइ छ । ‘सुर्खेत, जाजरकोट लगायतका जिल्लामा काम सुरु भइसकेको छ,’ प्रवक्ता केसीले भनिन्,‘अब सबै ठाउँमा जनप्रतिनिधिको नेतृत्वमा काम हुन्छ । निर्देशन भइसकेको छ ।’

चीन र दक्षिण कोरियामा प्रभावकारी देखिएकाले कर्णालीमा यो मोडेल अपनाइएको हो । एकीकृत टिममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी रहेका छन् ।

टिमले स्थानीयलाई क्वारेन्टाइनमा बसाल्ने, बिरामी भए उपचार गर्ने, शंकास्पद व्यक्तिहरुलाई कोरोनाको परीक्षण गर्न पठाउने, अप्ठेरोमा परेकालाई राहत वितरण गर्नेछ