वैशाख ३ गते २०७७

निको भएका ११६ जनामा पुनः कोरोना सङ्क्रमण फेला

वैशाख ३ गते
सउल । दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका ११६ जनामा पुनः सङ्क्रमण देखिएको छ ।

यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुनसक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुनसक्ने आशय व्यक्त गरेका छन्।

पछिल्लो समय दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लागिरहेको छ । यसले कोभिड–१९ रोकथामका लागि कोरिया विश्वभर प्रशंसित हुँदैछ ।
तर पुनः सङ्क्रमितको सङ्ख्या देखिनु दुखद् कुरा भन्दै यहाँका स्वास्थ्य अधिकारीले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमानसमेत गरेका छन्।

यसका साथै यो भाइरस कसरी पुनः सक्रिय भयो भन्नेबारेमा पनि वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको जनाएका छन् । तर केही विज्ञहरुले भने गलत परीक्षणका कारण यस्तो भएको हुनसक्ने पनि शङ्का गरेका छन्।

चीनको वुहान शहरबाट कोरोनाको माहामारी फैलिएपछि लगत्तै सङ्क्रमण उच्च भएको मुलुक दक्षिण कोरियाले नेपालमा जस्तो लकडाउन नगरेरै कोभिड–१९ सङ्क्रमण रोक्न सफलता प्राप्त गरेको देखिन्छ ।

यहाँ हालसम्म १० हजार ५३७ जनाको सङ्क्रमण देखिएको छ भने २१७ ले ज्यान गुमाइसकेका छन्। रासस