वैशाख ११ गते २०७७

अमेरीकी ग्रीनकार्ड बितरण रोक्न ट्रम्पको र्निदेशन

एजेन्सी, बैशाख ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् ।

अनुमति दिने व्यवस्थालाई अस्थायी रूपमा निलम्बित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यो व्यवस्था ६० दिनसम्म रहने घोषणा गरेका छन् ।

उनले केही ग्रीनकार्ड निलम्बन गर्ने यो अस्थायी आदेश आवश्यकता परेमा अरु लम्ब्याउन सकिने पनि उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण अर्थव्यवस्थामा परेको असर र अमेरिकी नागरिकको रोगजारी सुरक्षित गर्न यो आदेश ल्याउनु परेको ट्रम्पले जनाएका छन् ।

ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा उनले अर्थव्यवस्था खुलेलगत्तै बेरोजगार अमेरिकीको रोजगारी सुनिश्चित गर्नु पहिलो काम भएको बताए ।
नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका अगाडि कोरोना भाइरसले ल्याएको संकटलाई उपयोग गर्दै ट्रम्पले आप्रवासनसम्बन्धि आफ्नो कडा नीति लागू गरेको आलोचकहरुले बताएका छन् ।

यो आदेशले अमेरिकाले प्रदान गर्ने हजारौंहजार अस्थायी भिसामा भने कुनै असर नपर्ने जनाइएको छ । यो छूट अमेरिकी नागरिकका पति, पत्नी, बच्चाले पाउने छन् । यो आदेशभन्दा पहिले नै अमेरिकामा ग्रीनकार्डका लागि आवेदन दिने डाक्टर, नर्स र अरु स्वास्थ्य सेवाकाहरुलाई कुनै प्रभाव नपर्ने उल्लेख छ ।

तर यो आदेशले ग्रीनकार्डवालाले आफ्ना विस्तारित अरु परिवारलाई प्रायोजन गर्ने नीतिलाई भने रोक्ने छ । यद्यपि, राष्ट्रपतिको यो आदेशको कानुनी रुपमा अदालतमा मुद्दा पर्नसक्ने जनाइएको छ