वैशाख १३ गते २०७७

सरकारको निष्कर्ष ः लकडाउन प्रभावकारी

१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ ।

लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘केही कमीकमजोरीका बाबजुद कोरोना नियन्त्रणका लागि हामीले जे उपाय अवलम्बन गरेका छौँ, त्यो प्रभावकारी भएको छ भन्ने हाम्रो निष्कर्ष छ ।’

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष रहेको सुनाए । उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दै उनले भने, ‘हामी सही ट्र्याकमा छौँ । तर, छिमेकी मुलुकहरूको अवस्थालाई हेरेर जानुपर्छ । अब कति दिन थप्ने, के गर्ने भन्ने मन्त्रिपरिषद्ले गर्नेछ ।’

उत्पादन, ढुवानी र वितरणलाई सहज बनाउने, हिमाली जिल्लाहरूमा खुला गर्ने लगायतका सुझाव पनि बैठकमा आएको थियो । एक मन्त्रीले भने, ‘बैठकमा भएको छलफलका आधारमा उपप्रधानमन्त्रीसहित सचिवहरूको टिम बसेर प्रस्ताव तयार पार्छ । त्यसअनुसार मन्त्रिपरिषदले आवश्यक निर्णय गर्नेछ ।’