वैशाख २८ गते २०७७

हामी जनयुद्ध, भुकम्प संग लडेका मान्छे हौं ! कोरोनाभाइरसलाई पनि पराजय गर्न सकिन्छ

-ब्यवसायी अमर थपलिया ।

कोरोना भाईरस अर्थात कोभिड-१९ ले गर्दा बिश्वभरको अर्थतन्त्र थला परिरहेको अबस्थामा, त्यसको प्रभाब नेपालमा पनि परेको छ । यही समयमा हामीले नेपालमा कुरिएर ब्यवसाय तथा समग्र पर्यटन क्षेत्रमा परेको प्रभाव बारे, ब्यवसायी अमर थपलियासंग कुराकानी गरेका छौँ । थपलिया कुरिएर ब्यवसायी तथा अन्य पर्यटन ब्यवसायी हुन । धादिङ्ग जिल्ला गजुरिमा जन्मिएका उनी काठमाण्डौंमा बसेर लामो समय देखि ब्यवसाय गर्दैआएका छन । सानै उमेरदेखि पर्यटन ब्यवसायमा हात हालेका थपलिया एक सफल कुरिएर ब्यवसायी मानिन्छन । हाल उनी ECO International Cargo company का CEO छन ।

  • आजकाल कता के गर्दै हुनुहुन्छ ? दिन कसरी बित्दै छ ?
  • म अहिले धादिङ्गमा रहेको गाउंको घरमा आएको छु । घरको काम गर्ने । छोरीसंग खेल्ने, टिभी मोबाइलमा भुल्ने, पुस्तक पढ्ने त्यस्तै हो ।
  • तपाई एक ब्यस्त मान्छे अहिले फुर्सदिलो हुनु भएको छ ! जिन्दगिमा कहिल्यै सोच्नुभएको थियो यस्तो दिन पनि आउला भनेर ?
  • हाम्रो पुस्ताले प्राकृतिक बिपत्ति तथा मानविय गलत गतिबिधिको कारणले आएको अनेकौं बिपत्ति भोक्दै आएका त हौं । कुनै दिन, दिनको 24 घण्टाको समयपनि अपुग हुन्थ्यो । आज दिन कसरी कटाउने भनेर सोच्न परेको छ । हामी हरेक क्षण समस्यामा परिरहन्छौं । भविश्यमा कुनै समस्या आउन सक्छ भनेर सचेत हुन्थे तर यस्तो भयावह स्थितिको कल्पना गरेको थिइन ।
  • लामो समय सम्म घरमा बसिरहंदा कत्तिको मानसिक असर पार्दो रहेछ ?
  • स्पिडमा हिंडिरहेको गाडिमा एक्कासी ब्रेक लाग्दा प्रभाव परे जस्तो, एउटा रफ्तारमा हिंडिरहेको जिन्दगि पुरै स्टप भएको छ । सुरूको १/२ दिन त अलि गाह्रो भएको थियो तर बिस्तारै आफैंलाई चित्त बुझाउदै गइयो, बिस्तारै सामान्य हुन थाल्यो । `१२ बर्षमा खोला फर्कन्छ भन्थे’ हो रहेछ, घर छोडेर हिंडेको १२ बर्षपछि घर आएर बसेको छु । हामी गाउंमा हुर्किएको मान्छे गाउंमा आएर बस्दा कुनै तनाब छैन सामान्य छ ।
  • लकडाउनको समयमा समय के गरी सदुपयोग गर्न सकिन्छ ?
  • सधैं फुर्सद भएन भन्ने मानिसहरू अहिले फुर्सदिला भएका छन । कतिपय कामको लागि यो समय सुनौलो समय पनि हो । दैनिक रूपमा योग ध्यान गर्ने । पुस्तकहरू पढ्ने । सृजनात्मक लेख लेख्ने । इन्टरनेटको जमना छ । आफुलाई जान्न मन लागेको भाषाहरू सिक्ने । आफ्नो ज्ञानको भण्डारलाई फराकिलो पारेर समयको सदुपयोग गर्न सकिन्छ ।
  • लकडाउनले कुरिएर ब्यवसायमा कत्तिको प्रभाव पारेको छ ?
  • अहिले बिश्वभर प्रभाव नपारेको भन्ने कुनै ब्यवसाय नै छैन । कुरिएर ब्यवसायलाई पनि प्रत्यक्ष रूपमा ठूलो प्रभाव परेको छ । यससंग आवद्ध कयौं ब्यक्तिहरूको रोजगार गुमेको छ । प्लेन तथा पानीजहाज चल्न नसके पछि, न नेपालबाट बाहिर सामान जान सकेको छ, न नेपालमा बाहिरबाट सामान आउन सकेको छ । कयौं साथीहरू फोन गर्नुहुन्छ, `डुब्ने भइयो’ भनेर दुखेसो गर्नुहुन्छ । अब संसार डुबेको बेलामा सबैलाई प्रभाव पारी नै हाल्छ ।
  • लकडाउनले आत्तिनुभएका ब्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
  • यो बिपतको घडीमा सबैले यो सम्झनु पर्छ कि ! हामी रित्तै आयौं रित्तै जाने हो । ब्यपार ब्यवसाय गर्दा अनेकौँ ब्यवधान भइनै हाल्छ । अहिलेको यो घडिमा सम्पुर्ण ब्यवसायीहरूलाई यो भन्न चाहन्छु कि तपाई कोही पनि नआत्तिनु ढिलो चांडो यसको समधान भइनै हाल्छ । हामी त्यत्रो जनयुद्ध, भुकम्पसंग लडेर आएका मान्छे हौं । यो भाइरस बाट पनि छिटै बिजय हासिल गरिन्छ । म यति डुबे र उति डुबे भनेर पिर गर्न भन्दा, अब म कसरी यस बिरूद्ध लडेर, पहिलेकै अवस्थामा फर्कन सक्छु भनेर सोच्नु पर्छ । हरेक ब्यवसायीहरूले हतोत्साहित नभइ धैर्य गर्नु पर्छ । जिन्दगिमा केही गर्छु भनेर लागेपछि केही ऋण त लागि नै हाल्छ । कोहीपनि नआतिनु हामी सबै मिलेर यो भाइरस बिरूद्ध लडनुपर्छ भन्न चाहन्छु ।
  • यो महामारिबाट कहिले छुट्करा पाउन सकिएला जस्तो लाग्छ ?
  • अहिलेको युग बिज्ञान र प्रविधिको युग हो । चिकित्सा बिज्ञानले छिटै नै यसको भ्याक्सिन तयार पार्ने छ । भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिना लाग्ने अनुमान गरिएको छ । भ्याक्सिन नबनेसम्म यो पुर्ण रूपमा अन्त्य त नहोला । बिश्वमा कोरोना संक्रमितको संख्या बिस्तारै घट्दै गइरहेको छ । नेपालमा सरकारले कोरोना टेष्टको संख्या ब्यापक रूपमा बढाएर संक्रमितको पहिचाहन गर्न सकियो भने तथा खतरामुक्त क्षेत्रलाई सिल गरेर आन्तरिक रूपमा हामीले सामाजिक दुरी कायम गरेर आफ्नो काम गर्न थाल्यौ भने बिस्तार यसप्रति बिजय प्राप्त गर्न सकिन्छ ।
  • सम्पुर्ण नेपालीहरूलाई के भन्न चाहनुहुन्छ ?
  • अहिले हामी बाहिर निस्किएर हिड्ने हो हल्ला गर्ने गर्न हुंदैन । सरकारले भने अनुसार नै घरमा बस्नु पर्छ । खासगरी अहिले गरिब, दु:खी, असाहय, मजदुर बर्गलाई झन ठूलो असर परेको छ । कोहीब्यक्तिहरू भोकै पर्नुपर्ने अवस्था आएको छ । हामी सबैले जसले जति सक्छौं त्यही रूपमा दु:खीहरूलाई सहयोग गर्नु पर्छ । खाना खुवाएर होस् या खाध्याह्न बितरण होस् वा पैसा दिएर होस जसरि हुन्छ यो बेलामा मानवता देखाउनु पर्छ । सक्छौं टाढा सम्मको दु:खीलाई सहयोग गरौं । सम्भव नभए आफ्ना वरपर रहेका गरिब दु:खीहरूलाई सहयोग गरेर आफ्नो मानवता देखाऔं । आत्मबल बलियो बनाऔं । बिजय हाम्रो पक्षमा छ ।