जेठ २२ गते २०७७

बागलुङ्गमा आईसोलेसन बेडको अभाव, संक्रमित बढ्दै

अर्जुन कार्की, बागलुङ, २२ जेठ ।
बागलुङमा थप १० जना कोरोना संक्रमित थपिए पछि आइसोलेसन बेड अभाव भएको छ ।
नयाँ संक्रमित थपिए पछि उनीहरूलाई कहाँ राख्ने भन्नेमा जिल्ला कमाण्ड पोष्ट अलमलमा परेको छ ।
धौलागिरी अस्पताल बागलुङमा १२ बेड र अन्य चार निजी अस्पतालमा ८ बेड गरी २० बेड क्षमताको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको भनिएपनि अहिले धौलागिरी अस्पतालको मात्र प्रयोगमा छ । जिल्ला कमाण्ड पोष्टले यस अगाडी जानकारी दिएअनुसार गल्कोटको आरोग्य अस्पतालमा २ बेड, बागलुङ बजारको मुक्तिनाथ अस्पतालमा २ बेड, निलगिरी अस्पतालमा ३ बेड र सफल पोलिक्लिनिकमा १ बेड तयारी अवस्थामा रहेको बताएको थियो ।
धौलागिरी अस्पतालमा बागलुङमा १२ बेडको आइसोलेसन वार्ड भएपनि अहिले ७ ओटा बेड प्रयोगमा रहेका छन् । ६ जना संक्रमित र १ जना लक्षण देखिएपछि आइसोलेसनमा उपचाररत रहेका छन् । अस्पतालमा अब ५ बेडको मात्र क्षमता भएकोले अन्य ५ जनालाई कहाँ राख्ने भन्ने अन्यौल हुँदा कमाण्ड पोष्टले अहिले छलफलमा जुटेको छ । विहान ११ बजेदेखि कमाण्ड पोष्टको बैठक जारि छ ।
सवै तयारी पुरा रहेको जानकारी दिँदै आएको कमाण्ड पोष्टको तयारी कस्तो रहेछ भन्ने कुरा १० जना नयाँ संक्रमित फेला पर्दा बाहिर छर्लाङ आएको छ । भारतदेखि आएका गल्कोट नगरपालिकाका ३ जना, बडिगाड गाउँपालिकाका ४ जना र निसीखोला गाउँपालिकाका ३ जना गरी १० जनालाई आज विहानै संक्रमण पुष्टि भएपछि कमाण्ड पोष्टले उनीहरुलाई कहाँ राख्ने भन्नेमा खोजी सुरु गरेको हो ।
कमाण्ड पोष्ट छलफल गरिरहँदा बडिगाड गाउँपालिकाले एम्बुलेन्स मार्फत चारै जनालाई जिल्लामा पठाएको छ । ‘उनीहरुको अवस्था सामान्य रहेको थियो’ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भन्नुभयो–‘हामीले एम्बुलेन्समा उनीहरुलाई जिल्लामा पठाएका छौं । कमाण्ड पोष्टले आइसोलेसनमा राख्ने छ ।’
यता, कमाण्ड पोष्टका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले संक्रमित विरामीहरुलाई कहाँ राख्ने भनेर छलफल भइरहेको बताउनुभयो ।
यस्तै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्माले संक्रमित ३ जनाको अवस्था सामान्य रहेको बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीले छलफल भइरहेको छ केहि बेरमा खबर गछौं भन्नुभएकोले उहाँको फोन कुरिरहेको बताउनुभयो ।
गल्कोट नगरपालिकाले पनि जिल्ला कमाण्ड पोष्टको निर्णय पर्खि रहेको छ ।
नगरप्रमुख भरत गैरेले जिल्ला कमाण्ड पोष्टको बैठक बसिरहेको र केहि समयमा सम्पर्क गर्ने जानकारी आएकाले पठाउने तयारीका साथ निर्णयको पखाईमा रहेको बताउनुभयो ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार विहान बागलुङका १० जनालाई संक्रमण पुष्टि भएको थियो । यससँगै बागलुङमा संक्रमितको संख्या १८ पुगेको छ । त्यसमध्ये २ जना निको भइ घर फर्कि सक्नुभएको छ ।