भाद्र १० गते २०७७

गोरु काटेको निहुँमा गोली चलेपछि स्थानीय सख्त घाईते

भाद्र १०, काँकडभिट्टा — झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । गोली लागि कामाटोलीका ३८ वर्षिय रमिफुन आलम सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोडस्थित बिएमसी अस्पताल लगिएको छ । गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको पनि बताए ।
घटनामा सशस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएको उनले बताए । उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ ।
स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो । सयौंको संख्यामा स्थानीयहरुले टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । कामाटोली झापाको मुसलमान बाहुल्य क्षेत्र हो ।