भाद्र १० गते २०७७

चट्याङले २६ लाख बराबरको भेडा मरेपछि किसान चिन्तीत

जुम्ला । पातारासी गाउँपालिकामा चट्याङ लागेर भेडा मर्दा २६ लाख बराबरको क्षति भएको छ । पातारासी–४ ढाँणखर्क पाटनमा सोमबार दिउँसो चट्याङ लागेर दुई सय १७ भेडा मर्दा २६ लाख बराबरको क्षति भएको हो ।
२६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । “पातारासी गाउँपालिकाकास्थित डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज कृष्णबहादुर शाह र पशु तथा भेटेनरी शाखा प्राविधिक हरि कामीको नेतृत्वमा मङ्गलबार ढाँणखर्क पुगेर ल्याएको विवरण अनुसार ११ जना भेडापालक किसानका २१७ भेडा मरेका छन्”, उहाँले भन्नुभयो, “थप मूल्याङ्कन पनि हुँदैछ ।”
भेटनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने जानकारी दिनुभयो । गत वर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका(६ सूँडी गाउँका दुई सय ५० भेडा मरेका थिए ।