असाेज ३० गते २०७७

कोरोना परिक्षण पोखराको लाईफकेयरमा हुने

लाइफकेयर डाइग्नोस्टिक प्रा.लि.ले कोरोना भाईरस कोभिड १९ को पिसिआर परीक्षण सुरु गरेको छ ।
गण्डकी प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट कोभिड–१९ (कोरोना भाइरस)को पिसिआर परीक्षण गराउन सुरु गरेको सञ्चालक डा. अमर नागिलाले जानकारी दिनुभयो । कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको उहाँले जानाकारी दिनुभयो । पिसिआर परीक्षणका लागि अमेरिकी ब्राण्डको उच्च प्रविधिको ९६ वेलप्लेट आरटिपिसिआर मेसिनको प्रयोग हुने भएको छ । एक पटकमा ९६ वटा टेष्ट गर्न सकिने बताईएको छ । पिसिआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको छ भने टेष्ट प्रमाणित गर्नका लागि पिएचडी, माइक्रोबायोजिष्ट लगायतका दक्ष कर्मचारी खटिने व्यवस्था गरीएको छ । सेवाग्राहीलाई २४ घण्टाभित्रै पिरिआरको रिपोर्ट उपलब्ध गराइने प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिनुभयो । अत्यावश्यक परेमा ३ घन्टाभित्रमा पनि रिपोर्ट उपलब्ध गराउन सकिने छ । ‘बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला हुँदा ३ सय परीक्षण गर्न सकिनेछ । भने, ‘आवश्यकता अनुसार २४ घन्टा परीक्षण गर्दा एक दिनमा ५ सय टेष्ट गर्न सकिने छ ।’ राजधानी काठमाडौंमा रहेका स्तरीय ल्याब बराबरकै सुविधा लाइफकेयरमा रहेको संचालक कँडेलले जानाकारी दिनुभयो ।

गण्डकी प्रदेशमा निजी क्षेत्रबाट कोरोना परीक्षण गर्ने पहिलो र एकमात्र ल्याब लाइफ केयर बनेको छ । सरकारको निर्णय अनुसार पिसिआर परीक्षण शुल्क २ हजार रुपैयाँमात्रै लिइने र अन्य थप कुनै शुल्क नलाग्ने पनि कँडेलले जानकारी दिनुभयो । पोखरासहित गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गरी कोभिड परीक्षण सुरु गरिएको ल्याबले जनाएको छ । पोखरा विश्वविद्यालयमा प्रध्यापन गरिरहेका डाक्टर अमर नागिला सहित ल्याब्रोटरी साइन्समा विद्यावारिधी गरेका ४ जना विज्ञहरुको प्राबिधिक टोलीको ल्याबमा अबद्धता रहेको छ । पोखराको मुख्य बजार न्युरोडमा रहेको उक्त ल्याबमा अत्याधुनिक प्रविधिका मेसिनहरु रहेका छन् । बिगत ५ वर्ष अगाडिबाट पोखरामा सञ्चालित यो ल्याब प्रदेशकै एकमात्र क वर्गको ल्याब हो । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ ।