कार्तिक १ गते २०७७

सप्ताहाव्यापी साधारणसभा सम्पन्न

पोखरा, ३० असोज(रासस) पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा सप्ताहाव्यापी रुपमा आज सम्पन्न गरेको छ ।
कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सहकारीले असोज २४ गते औपचारिक शुभारम्भ गरेको साधारणसभा आज सम्पन्न गरेको हो ।
साधारणसभाको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीको एकिकरण गर्दै जाने सरकारको नीति रहेको र यो कार्यान्वयनमा आउने बताउँदै त्यसका लागि सहकारीहरू तयार हुनुपर्ने बताउनुभयो ।
एउटै भूगोलभित्र एक व्यक्ति एक सहकारीमा मात्र आवद्ध हुने व्यवस्था सहितको कानून कार्यान्वयनमा आउने बताउँदै उहाँले व्यक्ति व्यक्तिले पनि आँफू आवद्ध सहकारीहरूको एकिकरणका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नीति, विधि र प्रविधिलाईसँगसँगै अघि बढाउँदै उत्पादनमा जोडिनेगरी सहकारी कृयाशिल बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य दीपकराज लामिछानेले एक सहकारी एक उत्पादनको नीतिलाई कार्यावयननमा ल्याउनुपर्ने बताउँदै वडा भित्रका सहकारीले एकले अर्कोलाई सहयोग एवम् सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका सहकारी समितिका दर्ता अधिकारी अनिल कार्कीले सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारीको व्यवस्थापकीय पक्षको प्रशंसा गर्दै आगामी दिनमा उत्पादनमुलक क्षेत्रमा जोडिने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका सह सचिव सतिस लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा उप समितिका संयोजक निर्मल आचार्यले स्वागत गर्नुभयो ।