कार्तिक २४ गते २०७७

विद्युत प्राधिकरण निमित्त कार्यकारी निर्देशकमा शाक्य

हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । अर्को व्यवस्था नहुदासम्मका लागि भन्दै उर्जा मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए । शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए ।

यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् । कोइराला निमित्त प्रमुख भएपछि शाक्य प्राधिकरणमा आएका थिएनन् । आफू भन्दा कनिष्ठ कोइराला पदेन अध्यक्ष हुने भएकाले उनले यो बीचमा कम्पनीको सञ्चालक समिति बैठक पनि बोलाएनन् । तर, कोइरालाले नै उनलाई प्राधिकरणमा फिर्ता बोलाउने गरी गरेको निर्णय भने शाक्यले स्वीकार्नुपर्ने अवस्था बन्यो । यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणमा हाजिर गरिरहेका उपकार्यकारी मध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए । इलाम स्थायी घर भएका शाक्यले बिई साथै प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए ।