कार्तिक २६ गते २०७७

हङकङमा सबै विपक्षी सांसद्धारा सामुहिक राजीनामा

हङकङमा सबै विपक्षी सांसदहरुले सामुहिक राजीनामा दिएका छन् । चार जना विपक्षी सांसदलाई पदका लागि अयोग्य ठहर गरिएपछि सबै विपक्षी सांसदले बुधबार एकैपटक पदबाट राजीनामा दिएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले हङकङ सरकारले कुनैपनि राजनीतिज्ञलाई पदबाट हटाउनसक्ने कानुन पारित गरेपछि चार सांसदलाई हङकङ सरकारले बुधबार अयोग्य ठहर गरेको थियो । यस कानुनअनुसार पदबाट हटाइएका सांसदले अदालतमा समेत जान पाउने छैनन्। हङकङ चीनबाट अलग्याउन चाहने र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका संलग्न सांसदलाई अयोग्य ठहर गरिने कानुनमा बताइएको छ। बुधबार सिभिक पार्टीका सांसद एल्भिन युङ एनगक–किउ, कोक का–की, डेनिस कोकका साथै प्रोफेस्नल्स गिल्डका सांसद केननथ लिउङ सांसद पदका लागि अयोग्य ठहर भएका हुन् । पदका लागि अयोग्य ठहर भएका सांसदहरु क्रमशः एल्भिन युङ एनगक–किउ, कोक का–की, केननथ लिउङ र डेनिस कोक हङकङ चीनबाट अलग्याउने कार्यमा लागेको र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका यी सांसदहश्र संलग्न भएका कारण उनीहरुलाई पदबाट हटाइएको बताइएको छ।