मंसिर १ गते २०७७

नयाँ खोपले कोभिड १९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्क

कोभिड १९ बिरुद्ध सुरक्षा दिने नयाँ खोप भेटियको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ। फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ। दुवै कम्पनीले कोरोनाभाइरस विरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ। मोडेर्नाले यसलाई एउटा ठूलो दिन भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ। यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन्। यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो। बाँकीलाई डम्मी खोप लगाइएको थियो। पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो। ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए। बाँकी ९० जना डम्मी खोपु दिइएकाहरू थिए। यो खोपले कोरोनाभाइरसबाट ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ।