मंसिर ३ गते २०७७

कोभिड १९ विरुद्धको चिनियाँ खोप मध्यचरण परीक्षणमा सफल भएको दाबी

कोभिड १९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले मध्य चरणका परीक्षणमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही त मानिसहरूलाई लगाइपनि सकिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको थियो। युरोपेली र अमेरिकी खोपहरूको ठूलो स्तरको परीक्षणबाट प्राप्त तथ्याङ्कहरूले ती खोपहरू सफल रहेको भन्ने देखाएको विवरणहरू आइरहँदा यो पछिल्लो घोषणा आएको छ। अमेरिका, जर्मनी र रुसमा विकास गरिएको तीनवटा खोपहरूको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक भएका छन् र दशौँ हजारमा गरिएको परीक्षणमा ती खोप ९० प्रतिशत भन्दा बढी नै प्रभावकारी देखिएको बताइएको छ।