असार १८ गते २०७८

बिपी कोइराला प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न माग

अभियन्ता प्रा.डा गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको बर्खास्त गर्न माग गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले बरबादीतिर प्रतिष्ठानलाई धकेलिरहेको भन्दै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकको बर्खास्त गर्न माग डा.केसीले गरेको हुन् ।

बिपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रूपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको विज्ञप्तिमार्फत डा.केसीले आरोप लगाएका छन् । 

बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेको केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दलीय बफादारिता नभई वरिष्ठता, इमानदारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने डा। केसीको भनाइ छ ।  बिपी प्रतिष्ठानमा भइरहेको अनियमितताका विरोधमा प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरू १८ दिन देखि आन्दोलनमा छन् ।