असार १९ गते २०७८

स्पेनलाई सेमिफाइनल पुर्‍याउने नायक गोलकिपर सिमोन

काठमाडौं :युरोकप २०२० अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।

खेल स्पेनले जित्दा गोलकिपर उनाई सिमोन नायक बने । उनले दुई पेनाल्टी बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

पेनाल्टी सुटआउटलाई छाड्ने हो भने स्वीटजरल्याण्डका गोलकिपर यान सोमेरले उत्कृष्ट प्रदर्शन गरेर धेरैको मन जिते । नियमित कप्तान ग्रान्ट जाका लगातार दुई पहेँलो कार्डका कारण स्पेनविरुद्ध खेल्न पाएनन् । उनको सट्टा जर्दान साकिरीले स्वीस टोलीको कप्तानी गरे ।सिमोनले राष्ट्रिय टिममा खेल्न थालेको एक वर्ष पनि भएको छैन । उनलाई गत वर्ष नोभेम्बर ११ मा प्रशिक्षक लुइस एनरिकेले नेदरल्याण्ड्स विरुद्धको खेलमा डेब्यु गराएका थिए ।

साकिरीको ठाउँमा ८१ औं मिनेटमा डिजबिल सो मैदान प्रवेश गरेपछि उनै गोलकिपर सोमेरले कप्तानी आर्मब्याण्ड लगाएका थिए । खेलमा स्पेनले धेरै अट्याक गर्‍यो र स्वीस गोलकिपर सोमेरले धेरै प्रहार गोल हुनबाट रोके ।

करिब दुई घण्टा चलेको खेलमा स्पेनले स्वीटजरल्याण्डको पोस्टको दिशामा कूल २७ प्रहार गरेको थियो । अनि स्वीस गोलकिपरले १० वटा बल रोकेका थिए ।

स्पेनका गोलकिपर उनाई सिमोनले निर्धारित समयमा एउटा र अतिरिक्त समयमा एउटा बल रोकेका थिए  । तर उनको मूल्यांकन भने पेनाल्टी सुटआउटमा हुन पुग्यो ।

१२० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो । यान सोमेरको उत्कृष्ट बचाउले गर्दा धेरैले पेनाल्टी सुटआउटमा स्वीस टोली सफल हुने अनुमान गरेका थिए ।

तर खेल अनुमान विपरीत भयो । स्पेनका गोलकिपर उनाई सिमोनले स्वीट्जरल्याण्डका चारमध्ये दुई खेलाडीको पेनाल्टी रोकिदिए । स्पेनका कप्तान सर्जियो बुस्केटले सुरुमै पोष्टमा प्रहार गर्दा स्वीट्जरल्याण्डलाई फाइदा पुगेको थियो । तर उनाई सिमोनले फाबियन सार र म्यानुएल अकान्जीको पेनाल्टी रोक्दै स्पेनलाई जीतसम्म पुर्‍याए ।

स्पेनका लागि मिकेल ओजाबायलले निर्णायक मानिएको पाँचौ पेनाल्टी गोल गरे ।

२४ वर्षीय गोलकिपर सिमोनले युरोअघि स्पेनका लागि ७ खेल मात्र खेलेका छन् ।

एथ्लेटिको विल्वाओबाट ला लिगा खेल्ने सिमोनले युरोकपमा पहिलो रोजाईमा खेल्दै आएका छन् । उनले लगातार ५ खेल खेले । एकरुपको प्रदर्शन नभएपनि उनले क्वार्टरफाइनलमा स्वीट्जरल्याण्ड विरुद्ध भने निर्णायक मोडमा आफ्नो क्षमता देखाए । युरोअघि पोर्चुगलविरुद्ध मैत्रीपूर्ण खेलमा पनि उनले पूरै समय खेलेका थिए ।

सिमोनले राष्ट्रिय टिममा खेल्न थालेको एक वर्ष पनि भएको छैन । उनलाई गत वर्ष नोभेम्बर ११ मा प्रशिक्षक लुइस एनरिकेले नेदरल्याण्ड्स विरुद्धको खेलमा डेब्यु गराएका थिए ।

क्लबमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला एनरिकेले सिमोनलाई पूरा समय खेलाएका थिए । त्यसपछि उनले २०२० मै युइएफए नेसन्स लिगमा स्वीट्जरल्याण्ड र जर्मनीविरुद्ध पूरा समय खेले ।

२०२१ मा विश्वकप छनोट अन्तर्गत ग्रीस, जर्जिया र कोसोभो विरुद्ध पनि उनले पूरा समय मैदानमा बिताएका थिए ।

सिमोनले डेब्युयता स्पेनले कूल १३ खेल खेल्दा उनले लिथुअनिया विरुद्धको खेल मात्र गुमाएका छन् । युरोअघि कप्तान सर्जियो बुस्केटलाई कोरोना संक्रमण भएपछि स्पेनको टिमका अन्य सदस्य आइसोलसेनमा बसेको थियो र स्पेनले लिथुअनिया विरुद्ध यू २१ का खेलाडी खेलाएको थियो ।

सिमोनको क्लब करियरको सुरुवात पनि नाटकीय छ । सन् २०१८ मा एथ्लेटिको विल्वाओका पहिलो रोजाईको गोलकिपर केपा अरिजाबालाग चेल्सी लागे । दोस्रो रोजाईका गोलकिपर आएगो हेरेरिन पनि घाइते भए । त्यसपछि विल्वाओले सिमोनलाई टिममा राख्यो । सिमोन भन्दा अघि अझै अर्का गोलकिपर एलेक्स रेमेरो थिए ।

तर त्यसको पाँच दिनपछि नै सिमोनले लेगानेसविरुद्ध ला लिगामा डेब्यु गरे । उक्त खेल विल्वाओले २-१ ले जित्यो । उनले आफ्नो तेस्रो खेलमै रियल मड्रिडसंग खेल्न पाए । उक्त खेल १-१ को बराबरीमा सकिँदा सिमोनले केही राम्रा बचाउ गरे र खेलको म्यान अफ दि म्याच नै बनेका थिए ।

जब हेरेरिन फिट भए तब उनले सुरुवाती रोजाईँमा खेल्न थाले । तर २०१९ देखि भने सिमोनले क्लबमा नम्बर वान गोलकिपरको रुपमा खेल्दै आएका छन् । जसले उनलाई स्पेनको राष्ट्रिय टिमसम्मको यात्रा तय गराउन महत्वपूर्ण भूमिका खेल्यो ।