असार २४ गते २०७८

हर्पनखोलामा बनाइएको सिल्ट्रेसन ड्याम भत्कियो

बाढीका कारण फेवातालको सिरान हर्पनखोलामा बनाइएको सिल्ट्रेसन ड्याम भत्किएको बुधबार राति आएको बाढीसँगै हर्पनखोलाले बाटो बदल्दा पोखरा–२३, ठूलाखेतको असी भन्ने खेतमा बनेका ६ घर डुबानमा परेका छन्। 

‘गएरातिको बाढीले हर्पनखोलामा बनाइएको ड्याम भत्कियो, पहिला खेत भएको बस्तीमा प्लटिङ गरेर बनाइएका घरहरुको आँगनमै बाढी आएको छ,’ पोखरा वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले नेपालखबरसँग भने, ‘त्यो ड्यामबाट बालुवा निकाल्नेगरी महानगरले ठेक्का लगाएको थियो, बालुवा निकालिरहेका पनि छन्। बनाउँदा नै कच्ची भएकाले भत्किएको हो।’ 

रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न ५ वटा खोला हुँदै तालमा मिसिने गेग्र्यान रोक्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा २८ करोड १६ लाख रुपैयाँ लागतमा गत वर्ष फेवातालको सिरानमा ५ वटा ड्याम बनाइएका थिए। 

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत पोखरा–२४, पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक, पोखरा २३ र २४ को अँधेरी तथा पोखरा २३ कै हर्पनखोला घाँटीछिनामा ५ वटा ड्याम थिए। यीमध्ये हर्पनखोलाको खड्का कृष्ण तथा पीके जेभी दाङले निर्माण गरेको हो। 

अँधेरी खोलामा बनाइएका ड्याम पोहोर साल नै बाढीले भत्काइदिएको थियो। निर्माण क्रममै पाँगो बालुवा प्रयोग गरी गुणस्तरहीन काम भएकाले बाँध भत्किएको वडाध्यक्ष पराजुलीको भनाइ छ। 

उनका अनुसार स्थानीयले निर्माण क्रममै बाँध गुणस्तरहीन भएको जानकारी महानगरपालिकालाई दिएका थिए। तर गुनासो सम्बोधन भएन। खहरे खोलाको वेग र भूगोल बुझ्ने प्रयत्न गरिएन। 

विज्ञ टोलीले ती ड्यामहरूमा हप्तामा १ लाख ५० हजार घनमिटर गेग्र्यान जम्मा हुने र त्यहाँबाट बर्खामा हप्तैपिच्छे ढुंगा, गिट्टी, बालुवा निकाल्न सकिने प्रक्षेपण गरेको थियो। 

पोखरीमा जम्मा भएका ढुंगा, गिट्टी, बालुवा बेचेर वार्षिक २३ करोड रुपैयाँ आम्दानी हुन्थ्यो। परियोजना नाफामूलक थियो। लगभग एक वर्षमै लगानी उठ्ने! 

तर ड्याम बनिसक्दा पनि त्यहाँबाट ती सामग्री निकालिएन। ड्याम भरियो। अँधेरीखोलाको ड्याम भत्किँदा पनि महानगरपालिकाले ढुंगा–गिट्टी निकाल्ने काम गरेन। 

तर यो आर्थिक वर्षको अन्त्यतिर एकाएक ती ड्यामबाट बालुवा निकाल्ने ठेक्का निजी कम्पनी फेवा सिल्ट्रेसन प्रालिलाई दिइयो। २४ वर्षका लागि! 

महानगरपालिकाको ४९औं कार्यपालिका बैठकबाट भएको निर्णयको चौतर्फी विरोध भयो। स्थानीयदेखि संरक्षणकर्मीसम्मले सम्झौता अपारदर्शी भएको आरोप लगाए। 

सार्वजनिक निजी साझेदारीअनुररूप निजी कम्पनीले ३८ करोड लगानी गर्ने भनिए पनि महानगरपालिकाले किन लामो समयको सम्झौता ग¥यो भन्ने विवाद बाँकी नै छ। 

कार्यपालिकाको बैठकमा मेयर मानबहादुर जिसीले सम्झौताका बुँदा सच्याउने प्रतिबद्धता जनाएर स्थानीयको चित्त बुझाउने प्रयत्न पनि गरे। तर बाँध  खोलाले बगाइदिएको छ। 

स्थानीय शान्ति सालघारी वनका अध्यक्ष स्थानीय कलाधर भण्डारीका अनुसार सो क्षेत्रमा ६९५ झरना छन्। उनकै पालामा गरिएको एक अध्ययनअनुसार एक मिनेटमै सयौं मेट्रिक टन बालुवा आउँछ।