असार २७ गते २०७८

गण्डकीका बिनाविभागीय मन्त्रीले लिए जिम्मेवारी

पोखरा : गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा रहेका दुई बिनाविभागीय मन्त्रीले मन्त्रालय सम्हालेका छन् ।

गत २९ जेठमा शपथ लिएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आइतबार मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।

आचार्य ऊर्जा जलस्रोत तथा खानेपानी र मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । आचार्यले अर्थ र मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका थिए । गत २९ जेठमा गण्डकीमा कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको गठबन्धन सरकार बनेको थियो । त्यो दिन मुख्यमन्त्रीसहित पाँच जनाले शपथ लिएका थिए ।