श्रावण १२ गते २०७८

वेगनासमा बन्यो ‘कोभिड फ्रन्टलाईनरहरुको स्मृति’ मा मुरल

‘कोभिड फ्रन्टलाइनर’हरुको स्मृतिमा पोखरा ३१ वेगनासतालमा मुरल बनाईएको छ। वेगनासताल नजिकै रहेको गोदामको भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरिएको छ ।

उक्त मुरल संगै कोरोना महामारीले विश्व आक्रान्त पारेको र मास्कले सुरक्षित बनाउन सहयोग गर्ने अर्को प्रतीकात्मक तस्विर समेत बनाईएको हो। पोखरा २९ का बिबेक गुरुङ र उनको टिमले करिब ५ दिन लगाएर उक्त पेन्टिङ बनाएका हुन्।

कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर भित्तामा उक्त कला बनाइएको वेगनास युवा क्लवका अध्यक्ष निराजन बरालले बताए ।

कलाका माध्यमबाट नागरिकस्तरबाट अग्रपंक्तिमा खटिनेलाई थोरै भए पनि मनोबल बढाउने काम यस कलाले गरेको उनको भनाइ छ । नेपालको झण्डा, प्रहरी, डाक्टर र नर्स, जनपथ प्रहरीका सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिएका सैनिक ,सञ्चारकर्मी र सरसफाइमा खटिएका व्यक्तिहरूको चित्र तथा पृथ्वीका मानिसहरूलाई मास्कले सुरक्षित गर्न खोजेको चित्र मुरलमा समेटिएको छ ।