भाद्र १ गते २०७८

जसपाका केन्द्रीय सदस्यहरुद्वारा शपथ ग्रहण

काठमाडौं : निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

पार्टी नेता प्रमोद साहले केन्द्रीय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको जानकारी दिए । उनले भने, ‘पार्टीका केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ । ती केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइयो । पार्टीको सिद्धान्त, नीति, निमय अनुसार चल्नलाई केन्द्रीय सदस्यहरुलाई सपथ गराइएको हो ।’

दुई दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गर्नु भएको छ भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ-आफनो धारणा राख्नेछन्

बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ-आफ्नो धारणा राख्नेछन्। नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रीय कार्य समितिको बैठक बोलाउनु परेको स्पष्ट पारे । पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरुबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।