भाद्र २३ गते २०७९

‘पोखरा आर्ट ग्यालरी र पुस्तकालयको उचित व्यवस्थापन गर्छौं’ – प्रमुख आचार्य

पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर महानगरपालिकाले ३६ औँ दिनमा डोजर चलाएको हो ।

अधिकांश व्यवसायीहरूले सटर छोडिसकेका थिए भने आर्ट ग्यालरी र पुस्तकालयको व्यवस्थापन महानगरपालिका आफैले गर्ने प्रमुख धनराज आचार्यले बताए । ‘पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वी चोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ,’ प्रमुख आचार्यले भने, ‘त्यसको भुईँ तलामा सुचना केन्द्र हुन्छ, बिचको तलामा पुस्तकालय हुन्छ, त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ । यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’ अरू सबै संरचनाहरू त्यहाँबाट हट्ने प्रमुख आचार्यले जानकारी दिए । उक्त स्थानमा पार्किङ र सुन्दर बगैँचा सहितको खुला स्थान निमार्ण गरिने उनले बताए ।

वर्षौंदेखि महानगरपालिकाको सटर मा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई १ वर्षको भाडा समेत छुट दिएर बाँकी बुझाउन पटक पटक ताकेता गरे पनि अटेर गरिएको उनले बताए । सटर हटाए पनि उठ्न बाँकी रकम नियमानुसार असुल उपर गरिने प्रमुख आचार्यले बताए ।