असाेज २ गते २०७९

फेवातालबाट ६५ मिटरभित्र संरचना निर्माण नगर्न महानगरको निर्देशन

पोखरा महानगरपालिकाले फेवातालबाट ६५ मिटरभित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएको छ। नगर प्रमुख धनराज आचार्यले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाइने भनिएकाले नियम पालन गर्न निर्देशन दिएका हुन । उनले अदालतको पूर्ण फैसला नआएसम्म तोकिएको दूरीमा कुनै पनि नयाँ संरचना नबनाउन तथा निर्माणको क्रममा रहेको भए तत्काल काम रोक्न नगरप्रमुख आचार्यले निर्देशन दिएका छन।

ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले ती संरचना निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामग्री जफत गर्न नगर प्रहरीलाई निर्देशन समेत दिएका छन्। महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने उनले चेतावनी दिएका छन।

यसै क्रममा लेक साइडको खहरेस्थित भेगन रेस्टुरेन्ट चलाइरहेका व्यवसायी माधव पौडेलले अवैध संरचना निर्माण कार्य रोक्नु भन्ने सूचना दिन पुगेका नगर प्रहरीलाई ज्यान लिने धम्की दिएका छन।

उनले आफूले कुनै संरचना नभत्काउने र महानगरलाई पनि भत्काउन नदिने चुनौती समेत दिए। उनले ताल किनारमा बनाएको घर र व्यवसाय दुवै मापदण्डविपरीत रहेका छन्। महानगरबाट कुनै स्वीकृति नलिएरै निर्माणको काम गरिरहेका उनले आफूले निर्माण गरिरहेको घर बनाउन पाउनुपर्ने र पुनः अवरोध गर्न आएमा ज्यान लिने भन्दै नगर प्रहरीलाई धम्क्याएका हुन्।

प्रमुख आचार्य सहितको टोली फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसार क्षेत्रमा पुगेर ताल र आसपासमा रहेको संरचनाहरूको अवलोकन गरेर फर्किएको थियो। फेवातालको माथिल्लो क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुंगामाटो थुपारेको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फर्काउने पनि नगरप्रमुख आचार्यले बताए। सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाइने उनको भनाइ छ। महानगरभित्र भूमिको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि उनले बताए।