असाेज ५ गते २०७९

बागलुङमा बढ्दो डेंगु संक्रमणस् परीक्षणका लागि किट अभाव

बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जिल्लामा डेंगुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पर्याप्त रूपमा डेंगु परीक्षणका लागि किट अभावले गर्दा धेरै शंकास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा यस वर्षको अहिलेसम्म ३५ जनामा डेंगु संक्रमण पुष्टि भएकामा ९ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नु परेको छ । १ जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिए ।

स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट छ भने थप २ सय किट आउने क्रममा छ । जिल्लामा डेंगु रोगको लक्षणसहितका बिरामीको संख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए । डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ । डेंगु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेंगु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ ।