असाेज १० गते २०७९

गण्डकी सन्देश प्रधान सम्पादक सम्मानित

पोखरा टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत तथा गण्डकी सन्देश प्रधान सम्पादक पुष्प दाहाल हाम्रो सहयोगी पत्रकारीता पुरस्कार २०७९ वाट सम्मानित भएका छन् । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा दाहाललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका कृषी सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बूढा, सहकारीका अध्यक्ष शुक्रराज कँडेल लगायतले सम्मापत्र र नगद सहित सम्मान गरेका हून । सो अवसरमा मन्त्री बुढाले सहकारी संस्थामा सबैको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिदै संस्थामा सबैको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्ने बताए । साथै सदस्यको भूमिकाका बारेमा सबैमा जानकारी हुनु आवश्यक रहेकोमा जोड दिए । मन्त्री बुढाले देशमा आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सहकारीको ठूलो भूमिका रहेकाले उत्पादनमा संस्थाले लगानी गर्नुपर्ने बताए ।साधारणसभामा जिल्ला सहकारी संघ कास्कीका सदस्य चन्द्रा पराजुली , पोखरा महानगर सहकारी समितिका सदस्य नारायण प्रसाद आचार्य, हाम्रो सहयोगी उपभोक्ता सहकारी संस्थाका संस्थापक अध्यक्ष उमाकान्त खनाल, सक्षम बचत तथा ऋण सहकारीका अध्यक्ष विश्वमित्र सुवेदी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले सदस्यहरुको हित सँगै सवल अर्थतन्त्र निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष शुक्रराज कँडेलले महामारी पश्चातको आर्थिक मन्दी र तरलता अभावलाई अवसरका रुपमा परिणत गरिने बताउदै संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिका सहित रुपा गाउँपालिकामा पनि विस्तार गरी त्यस क्षेत्रमा सहकरी गतिविधि सञ्चालन गरिएको बताए । सो अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी सम्झना भुजेललाई पनि सम्मान गरिएको छ । साथै उक्त साधारण सभामा उत्कृष्ट बचतकर्ता , ऊत्कृष्ट ऋृणी तथा यसै बर्ष १२ कक्षा उत्तीर्ण सेयर सदस्यका छोराछोरीहरूलाई पनि सम्मान गरिएको छ । यसैगरी साधारणसभाका अवसरमा पोखरा वडा नं ३१ स्थित विश्वज्योति आधारभुत विद्यालयका एक छात्र र एक छात्रालाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । पोखरा महानगर पालिका ९ पृथ्वीचोकमा कार्यालय रहेको सहकारीले हाल पोखरामहानगर पालिका १४ बिपी मार्गमा सेवा केन्द्र सञ्चालन गरि सेवागराहीलाई सेवा दिई रहेको छ । कार्यक्रममा पोखराको न्युरोडमा रहेको लाईफ कियर डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरले प्रालीले निःशुल्क स्वास्थ्य परीक्षण पनि गरेको थियो । सहकारीका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षताम सम्पन्न कार्यक्रममा उपाध्यक्ष रूद्र बहादुर बीकले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव कृष्ण प्रसाद तिमल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।