कार्तिक १ गते २०७९

घरेलु भूमिमा अनिशलाई म्याराथनको स्वर्ण

गण्डकीका धावक अनिश थापामगर ले नवौं राष्ट्रिय खेलकुदको म्याराथनमा स्वर्ण जितेका छन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने क्रममा २ घन्टा २२ मिनेट ५४ सेकेन्डको टाइमिङ लिएका थिए ।आर्मीका धावक कृष्ण बस्नेत र एपीएफका सन्तोषविक्रम विष्टले रजत र कांस्य पदक जिते । प्रतियोगिताका साबिक विजेता कृष्णले २ घन्टा २३ मिनेट १४ सेकेन्डका समय लिए । सन्तोषले २ घन्टा ३० मिनेट ५४ सेकेन्डबाट कांस्य जितेकका हुन् । त्यस्तै आर्मीका सोमबहादुर कुमाल र एपीएफकी रमिता थारुले नवौं राष्ट्रिय खेलकुदमा ४०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालाको ट्र्याकमा मंगलबार पुरुषतर्फ सोमबहादुरले ४७।९५ सेकेन्डबाट दूरी पार गर्दै स्वर्ण जिते । उनले यसअघि ४८।२ सेकेन्डको आफ्नै नामको ह्यान्ड टाइमको राष्ट्रिय कीर्तिमानमा सुधारेका छन् । सोमले यो समय सन् २०१६ मा काठमाडौंमै निकालेका थिए । पोखरा रंगशालामा निकालेको समय आशाराम चौधरीले सन् १९९० को बेइजिङ एसियाडमा निकालेको समय ९४८।३२ सेकेन्ड० भन्दा राम्रो हो । तर आशाको राष्ट्रिय कीर्तिमान इलेक्ट्रिक टाइमको हो । एपीएफका आशिष चौधरीले ४९।४० सेकेन्डबाट रजत र आर्मीका प्रकाश दनुवारले ४९।१० सेकेन्डबाट कांस्य जितेका छन् ।

महिला ४०० मिटरमा रमिताले ५८ दशमलब १० सेकन्डबाट राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेकी हुन् । आर्मीकी निर्मला थापा र एपीएफकी कल्पना श्रेष्ठले रजत र कांस्य जितेका छन् । निर्मलाले १ मिनेट ००।१४ सेकेन्ड र कल्पनाले १ मिनेट ००।७० सेकेन्ड लगाएका थिए । रमिताले दिलमाया कार्कीको नाममा रहेको ह्यान्ड टाइमको राष्ट्रिय कीर्तिमानभन्दा राम्रो प्रदर्शन दिएकी हुन् । दिलमायाले सन् २०१० मा ५८।५ सेकेन्डको टाइमिङ बनाएकी थिइन् । इलेक्ट्रिकमा रमिताकै प्रशिक्षक प्रमिला रिजालको नाममा ५९।९० सेकेन्डको कीर्तिमान कायम छ ।