कार्तिक ३ गते २०७९

पदक विजेतालाई पोखरा महानगरको सम्मान

कार्तिक ३, पोखरा गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसीलगायतले ४१ जना पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्नुभएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार पोखरा महानगरवासी खेलाडीले पाँच स्वर्ण पदक जितेका छन् भने दुई कांस्य तथा पाँच रजत पदक जितेका छन् । यी सबै प्रतियोगितामा सहभागी ४१ जना खेलाडीलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो । स्वर्ण पदक विजेतालाई प्रतिपदक नगद १५ हजार रुपियाँ (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद पाँच हजार, कांस्य पदक विजेतालाई प्रतिपदक १० हजार (व्यक्तिगत) तथा समूहमा सहभागीप्रति खेलाडी नगद पाँच हजार र रजत पदक विजेता खेलाडीलाई प्रतिपदक नगद पाँच हजारका दरले सम्मान गरिएको हो । हालसम्म पुरुष ह्यान्डबल (समूह), फुल कन्ट्याक्ट कराँतेका अभिषेक तामाङ र अनिश बुढा, बडी बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।

यस्तै फुल कन्ट्याक्ट कराँतेकै रूपक नेपाली र शिव भुजेलले कांस्य पदक प्राप्त गर्नुभएको छ । केही खेलमा सहभागी समूहले पाँच रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने अन्य खेलाडीलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। खेलकै दौरानमा खेलाडीलाई गरिएको सम्मानले थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । खेलाडीमा सकारात्मक ऊर्जाको प्रवाहका लागि यस्ता प्रकारका सम्मान आवश्यक हुने तर्कसमेत गर्नुभयो। पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीको साथैमा रहेको उहाँले विश्वास दिलाउनुभयो । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताउनुभयो । महानगरपालिकाभित्रका खेलाडीलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नका लागि पोखरा महानगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमन्तप्रसाद आचार्यले शिक्षासँगै खेलकुद विकासका नियमित कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महानगरपालिकाका यति धेरै खेलाडीको सहभागिता हुनुले आफूलाई निकै खुसी लागेको बताउनुभयो ।