मंसिर ६ गते २०७९

स्याङ्जाका तीन स्थानमा बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग

स्याङ्जा क्षेत्र नम्वर २ चापाकोट नगरपालिकाको ३ वटा वडामा बुथ कब्जा भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमाले लगायत अन्य ११ दलका उमेद्वारहरुले पुनः मतदानको माग गर्दै मतगणना स्थगित गरेका छन् ।

मंसीर ४ गते एमाले लगायतका उमेद्धवारहरु मतदान स्थलमा अनुगमन गर्ने क्रममा उनीहरुको एजेन्टलाई विभिन्न किसिमका धाकधम्की दिई बुथबाट बाहिर पठाई मनखुसी तरीकाले मतदान गराएको भन्दै एमालेलगायत ११ दलका उमेद्धवारहरुले पुनः मतदानको माग गरेका हुन् । उनीहरूले मतगणना सुरु गर्न नै दिएका छैनन् ।

चापाकोटको वडा नम्वर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे, ४ को राममन्दिर माध्यमिक विद्यालय दार्शिङ र ५ मा रहेको जनसक्रीय माध्यमिक विद्यालय चिदिपोखरीका मतदान केन्द्रमा ९९ प्रतिशत भोट खसेपछि संसारमै नभएको रेकड यहाँ रहेको भन्दै सत्य(तथ्य छानबिन गर्न मागसहित निर्वाचन अधिकृतको कार्यालय वालिङमा उजुरी परेको छ ।

ती मतदान केन्द्रहरुमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले अनधिकृत रुपमा बुथ कब्जा गरेको र विदेश भएकाहरुको नामबाट पनि मत खसेको देखिएपछि सत्यतथ्य छानविन गर्न निर्वाचन कार्यालयलाई अनुरोध गर्दै सबै उमेद्धवारहरुले पुनः मतदानको माग राखेका छन् ।