जेठ ५ गते २०८०

साउदीमा थप नेपालीले पाए एक्जीट भिसा

साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ४९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियाद र दमामबाट ती नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। योसहित हालसम्म दुई हजार पाँच सय भन्दाबढीले एक्जिट भिसा पाइसकेको बताईएको छ।दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।
अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।