असार १४ गते २०८१

खनाल – भुसाल समुहको अध्यक्षमा खनाल सर्वसम्म उम्मेदवार

काठमाडौं । असार १६ देखि २० गतेसम्म काठमाडौंमा चल्ने नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी नेता झलनाथ खनाललाई सर्वसहमत पार्टी अध्यक्षमा अगाडि बढाउने सहमति भएको छ ।

आज खनाल निवास डल्लुमा पार्टी महासचिव घनश्याम भुसाललगायतको छलफलले खनाललाई सर्वसहमत पार्टी अध्यक्षका लागि महाधिवेशनमा प्रस्ताव गर्ने सहति गरेको हो । ‘माधव नेपाललाई समेत सहमति गराउने प्रयास हुनेछ, खनालको नाममा सहमति नभए के गर्ने भन्ने फेरि भेला बसेर निर्णय गर्ने छौँ,’ खनालनिकट केन्द्रीय सदस्य रामेश्रर श्रेष्ठले भने ।

पछिल्लो समय अध्यक्ष नेपाल र महासचि भुसालबीच तिक्तता बढ्दै जाँदा महाधिवेशन प्रतिनिधिले सर्वसहमत खनाललाई अध्यक्ष बनाएर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट भइसकेकाछन् ।

७७ जिल्ला र विभिन्न संङ्गठनबाट १ हजार ८ सय प्रतिनिधि छानिएको हो । महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि थपिनेछन् । ७५ प्रतिशत महाधिवेशन प्रतिनिधि खनाल–भुसाल विचार समूहमा रहेको एक केन्द्रीय सदस्यले बताए ।