कार्तिक १८ गते २०८१

प्रहरी महानिरीक्षक कुँवर संयुक्त राज्य बेलायत प्रस्थान

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गरेका हुन् नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरे ।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । साथै प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।