फागुन २८ गते २०८१

रुपा गा .पा ले आफ्नो स्थापना दिवस मनायो। रुपा रत्नबाट विभिन्न ब्याक्ती सम्मानित।

शिबराज सुवेदी ,पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ।

गाउँपालिकाको भिरचोक खेलमैदानमा आयोजित कार्यक्रममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन, कृषि तथा जैविक विविधता प्रदर्शनी आयोजना गरियो। कार्यक्रममा महको चाका खाने कार्यक्रम, स्थानीय रैथाने बाली तथा बाख्राको प्रदर्शनी समेत गरिएको थियो।

पुरुष भलिबलमा वडा नम्बर ६ विजेता बन्दै ७७ हजार रुपैयाँसहित उपाधि जित्यो। उपविजेता वडा नम्बर ७ ले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्‍यो।

गाउँपालिकाको समृद्धिमा योगदान पुर्‍याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि तथा एमडी उपाधि प्राप्त विभिन्न व्यक्तिहरूलाई ‘रुपा रत्न’ सम्मान प्रदान गरिएको थियो।

सम्मानित हुनेहरूमा डा. दिनेश न्यौपाने, कृष्ण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी, सहप्राध्यापक कमला रानामगर, सुर्यप्रसाद तिमिल्सिना, नरहरी रेग्मी, डा. अनिल रेग्मी, अमृत गुरुङ, कालिदास न्यौपाने, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी नवराज सुवेदी र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी रहेका छन्।

प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण तथा सम्मान गरेका थिए । विभिन्न दलका प्रतिनिधिहरूले शुभकामना दिएका थिए।