असाेज ६ गते २०८०

फिर्केखोलाका सम्बन्धमा महत्पूर्ण दस्तावेज : प्रमुख आचार्य

फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनु भएको हो । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सीना–१८ रहनुभएको छ ।


प्रतिवेदन बुझ्दै प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक महत्वपूर्ण दस्तावेज तयार भएको बताउनुभयो । “यो प्रतिवेदनले खोलाघर माथीको अवस्था देखाइदिएको छ, यसको कार्यान्वयनका सम्बन्धमा महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरि उपयुक्त निर्णय गर्नेछौँ, प्रमुख आचार्यले भन्नुभयो, सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरि यसमाथीका संरचनाहरु हटाइनेछ ।” दिगो पर्यटन विकास परियोजना अन्तरगत यसको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
उपप्रमुख मन्जुदेवी गुरुङले फिर्केखोला माथी बनेका संरचनाहरु हटाउने कार्यमा आमपोखरेलीहरुको साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो । महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलाघर खाली गर्ने बताउँदै उहाँले यसको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सार्वजनिक सम्पतिको दोहनलाई रोक्दै संरक्षण तथा विकासका गतिविधिहरु संचालन गरिने बताउनुभयो । फिर्केखोलाको प्राविधिक प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुहरुको कार्यान्वयनका लागि प्रशासनिक संयन्त्रका रुपमा पोखरा महानगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिकुल मौषम र भौगोलिक कठिनाइका बाबजुत खोलाको खोला नापजाँच कार्य सम्पन्न गरि प्रतिवेदन तयार गरिएको समितिका संयोजक वासुदेव पौडेलले बताउनुभयो । खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका १६० संरचनाहरु निर्माण गरेको पाइएको उहाँले जानकारी दिनुभयो । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको छ । खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएका छन् ।

साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । खोलाको उचाइ ४ देखी ९ मिटरसम्म गहिरो रहेको पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरि ५८८ सिमा स्तम्भहरु गाडिएका छन् । प्रतिवेदन अनुसार फिर्केखोला माथि २५ वटा पुल तथा कल्भर्टहरु रहेका छन् । यसको नापजाँच कार्य ३२ दिनसम्म २८८ घण्टामा सम्पन्न गरिएको हो ।

फिर्के तथा बुलौदी खोला हुदैँ फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहोर तथा सिसा र बिषाक्त रसायनका कारण प्राणि जिवन संकटमा पर्नुका साथै मानव जिवनमा समेत घातक प्रकृतिका जटिल रोगहरुको जोखिम बढ्ने गरि वातावरणिय प्रदुषण भैरहेको प्रतिवेदनमा उल्लेख छ । खोला फोहोर फ्याँक्ने डम्पिङ बन्दै गैरहेकाले तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।

खोलामा बग्ने बिषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेको, खोलाघर मै मापदण्ड विपरित पक्की संरचनाहरु निरन्तर निर्माण भैरहेकाले खोलाघरको हरियालीमा ह्रास आएको, शहरी तापमानमा वृद्धि भइ जलवायु परिवर्तनका असरहरुको नकारात्मक प्रभाव मानव जीवन र वातावरणमा प्रत्यक्ष रुपमा देखिएको, खोला छेउमा रहेका सार्वजनिक तथा प्रतिजग्गाहरु निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनैपनि प्रकारका विपत्तिहरुमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानहरुको अभाव हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ ।

खोला आसपासमा हुने भौतिक निर्माणको कार्यलाई तत्काल रोक्का गरि सचेतना सहितका सरसफाई अभियानहरु सञ्चालन गर्न, वातावरणिय सुधारका लागि थप क्रियाकलापहरु गर्न, क्लिन पोखरा ग्रिन पोखराको अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउन, सफा पोखरा अभियान मार्फत स्वयसेवालाई प्रोत्साहन गरी नागरिक अभियानहरु संचालन गर्न प्रतिवेदनले सुझाएको छ । प्रतिवेदनले सम्पदाको संरक्षणमा उचित मार्ग निर्देशन प्रदान गरेको छ ।

अल्पकालिन तथा दिर्घकालिन पर्यटन पुर्वाधारहरु निर्माणका लागि ठोष योजनाहरु लागु गर्न, प्लाष्टिक निषेध कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, विद्यालय स्तरमा सचेतना कार्यक्रमहरु संचालन गर्न, पर्यावरणको संरक्षणका लागि मानविय सचेतना अभिवृद्धि गर्न, विभिन्न स्थानमा पार्कहरु निर्माण गर्न, आवतजावतका लागि सहज पहुँचमार्गहरु विस्तार गर्न, ठाउँठाँउमा चेकड्यामहरु निर्माण गर्न, खोला आसपासमा ग्रिन जोनहरु विकास गरि पैदल तथा साईकल ट्रयाकहरु निर्माण गर्न सुझाइएको छ ।

जलचर तथा स्थलचर प्राणिको बासस्थान सुरक्षित गर्न खोलाको पानीलाई सुद्धिकरण गरि खोलामा जथाभावी रुपमा मिसाइने गरेको रसायनयुक्त बिषाक्त पानीलाई रोक्न, प्राणि जिवनको रक्षा तथा जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न खोलाछेउमा हुने निर्माण कार्यहरुलाई निरुत्साहन गर्न, फिर्केसँग जोडिएका सार्वजनिक जग्गाको संरक्षण गरि भविष्यमा आउन सक्ने विपत्तिहरुमा प्रयोग गर्ने गरि खुला स्थानहरुको विकास गर्नु, खोलाछेउमा संचालनमा रहेका ग्यारेज तथा अटोपार्टस्हरु, कवाडी संकलन केन्द्रहरु तत्काल स्थानान्तरण गरि ती ग्यारेज तथा अटोपार्टस्हरु, कवाडी संकलन केन्द्रहरुबाट निस्कने रसायनलाई फिर्केखोलामा मिसिने कार्यलाई रोक्नु पर्ने प्रतिवेदनले सुझाएको छ ।